रासायनिक अस्त्र रुसले प्रयोग गर्न सक्छ ?

काठमाडाैं । युक्रेनले रासायनिक हतियार विकास गर्ने योजना बनाएको दाबी गर्दै त्यसबारे छलफल गर्नका लागि शुक्रबार रुसले संयुक्त राष्ट्रसंघको विशेष आपत्कालीन बैठकको माग गरेको छ ।
तर उक्त दाबीलाई ‘फ्ल्स फ्लाग’ (विपक्षीलाई आरोप लगाउने उद्देश्यसहित बनाइएको राजनीतिक वा सैन्य कारबाही) भन्दै युक्रेन र अमेरिकाले आपत्ति जनाएका छन् ।
उनीहरूले यो युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्ने औचित्य पुष्टि गर्न गरेको सङ्केत गरेका छन् । युक्रेनमा रासायनिक प्रयोगशाला स्थापना गरिएको छ जहाँ कोभिडजस्ता रोगहरूबाट सर्वसाधारणहरूलाई जोगाउनका लागि वैज्ञानिकहरूले काम गरिरहेको सरकारले जनाएको छ ।
युद्ध चलिरहेका कारण विश्व स्वास्थ्य सङ्गठनले युक्रेनलाई प्रयोगशालामा रहेका सबै खतरनाक सूक्ष्म जीवाणु नष्ट गर्न भनेको छ ।
रासायनिक अस्त्र के हुन र यो जैविक हतियारभन्दा कसरी फरक हुन्छ ?
रासायनिक हतियारहरू त्यस्ता हतियार हुन् जसले विषाक्त पदार्थ वा शरीरको प्रणालीमा आक्रमण गर्न सक्ने रासायनिक पदार्थहरू बोक्छन् । रासायनिक अस्त्रका विभिन्न वर्ग छन् । कार्बन अक्सिक्लोराईड भनिने विषालु ग्यासले फोक्सो अनि श्वासप्रश्वास प्रणालीमा असर गर्छ ।
त्यस्तै ‘मस्टर्ड ग्याँस’ जस्ता ‘ब्लिस्टर एजेन्ट’ले छाला पोल्ने अनि मानिसहरूको दृष्टिविहीन बनाउन सक्छन् । र अर्को सबैभन्दा घातक वर्ग हो: स्नायु प्रणालीमा असर पर्ने तत्त्व, जसले मस्तिष्क र मांसपेशीबीचको सञ्चारमा समस्या पार्छ। यसको एउटा सानो थोपासमेत घातक हुन्छ ।
भीएक्स भनिने नर्भ एजेन्ट अर्थात् स्नायु प्रणालीमा असर पार्ने तत्त्वको ०.५ एमजी मात्रा वयस्क मानिसलाई मार्न काफी हुन्छ । यस्ता रासायनिक तत्त्व युद्धमा प्रयोग हुने गोलाबारी, बम अनि क्षेप्यास्त्रमा राख्न सकिन्छ ।
तर रुससहित निकै धेरै राष्ट्रहरूले १९९७ को रासायनिकअस्त्रसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेका छन् । बीबीसी
प्रतिक्रिया