रोजगारीको प्रलोभनमा यूएई पठाउनेलाई कारबाही गर्छाै : मन्त्री श्रेष्ठ

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग छलफल गरेका छन् ।
कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन दिने र रोजगारीको प्रलोभनमा नेपालीलाई यूएई ल्याउनेलाई कारबाही गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा दोषीलाई पक्राउ गर्न सकिने बताए । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको जनाउँदै उनले भने, ‘गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि जोगिदैनन् ।’ उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित प्रवासी नेपाली संघसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरूको सहभागिता रहेको मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जनाएको छ ।- रासस

प्रतिक्रिया