शुक्रबार, वैशाख २८, २०८१

झापामा कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित

नेपालखोज २०७८ चैत २ गते ११:४८

काठमाडौं । कोरोनाको संक्रमणदर झापा जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेकाले किसान चिन्तित बनेका छन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन् ।

दमक नगरपालिका–३ मा योङहाङ एग्रो फार्म प्रालिले दैनिक जसो ५० किलो बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ । कोभिडको संक्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताए ।

उनले भने, ‘कोरोनाकालमा थोरै मान्छेले कुरिलोको महत्व बुझें र यसको प्रयोग गरे । अरु तरकारीको तुलनामा महँगो हुने र सर्वसाधारणले अझै पनि यसको गुण र महत्वका बारेमा राम्रो जानकारी नभएको कारण बिक्री हुन छाड्यो ।’ योङहाङ र याम भण्डारीको संयुक्त लगानीमा १० कठ्ठामा सुरू गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरू गरेको थियो ।

सुरुका दिनमा प्रतिकिलो एक हजार ४०० रुपैयाँमा बिक्री गरेको कुरिलो हाल थोक मूल्य ४०० रुपैयाँले बिक्री गरिरहेको किसानहरुले बताए । दैनिकजसो उत्पादन हुने कुरिलो स्थानीय बजारमा मात्र खपत नहुँदा र जिल्ला बाहिर बजारको विस्तार गर्न नसक्दा समस्या उत्पन्न भएको योङहाङले बताए । उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभइ पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत जैविक हुने भए पनि अन्य तरकारीको तुलनामा महँगो हुँदा उपभोक्ता खासै आकर्षित नभएको बताए ।

प्रतिक्रिया