बिहीबार, जेठ १०, २०८१

चैतभित्रै मेलम्चीको पानी काठमाडौं पुर्‍याउने गरी काम गर्न निर्देशन

नेपालखोज २०७८ चैत २ गते १४:१४

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्वद्ध सबै निकायलाई निर्देशन दिएका छन्।

आज सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्म जसरी पनि पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिए।

मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी थिए । निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताए ।

मन्त्री चौधरीले डलरमा रकम भुक्तानी गर्न केही समय लागेको तर नेपाली रुपैयाँ सरकारले ठेकेदारलाई सम्झौताअनुसार भुक्तानी गरिरहेको पनि उनले स्पष्ट पारे । स्थानीय प्रभावित, बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको उनले बताए ।

उनले ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यहीअनुसार काम हुनुपर्नेमा जोड दिए। उनले हाल जारी रहेको कामको गति चित्तबुझ्दो रहेको पनि बताए ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा सोचेभन्दा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताए । उनले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौं लैजाने गरी काम भइरहेको जानकारी दिए । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उनले दिए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन रु पाँच लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन पनि आग्रह गरे । काठमाडौं आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको वर्षातको बाढीले क्षति पुर्‍याएको थियो । त्यसपछि सो आयोजना हालसम्म नै ठप्प रहेको छ ।

प्रतिक्रिया