८ करोड बिगोसहित सौगात इन्टरनेसनलविरुद्ध मुद्दा दायर

नेपालखोज २०७८ चैत २ गते १६:२०

काठमाडौं । सौगात इन्टरनेसनलविरुद्ध ८ करोड रुपैयाँ बिगोसहित मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले आज भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थायी बसोबास गर्ने सौगात इन्टरनेशनल प्रालिका संचालक दिपक कुमार देउजा, चितवन कालिका नगरपालिका स्थायी ठेगाना भई काठमाडौंको नागार्जुन नगरपालिका सितापाइलाको मिलन टोलमा बसोबास गर्ने सौगात इन्टरनेशनलको खाता संचालक मोहनप्रसाद भट्टराई र काठमाडौं महानगरपालिका लगनटोल स्थायी बसोबास गर्ने सौगात इन्टरनेशनलका लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध आठ करोड २१ लाख ७२ हजार छ सय ४१ रुपैयाँ बिगोसहित उच्च अदालत पाटनमा आरोपपत्र दायर गरेको हो ।

विभागका अनुसार उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि विजक लिई वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी मु.अ.कर तर्फ क्रेडिट दाबी गरी तिर्नु पर्ने मु.अ.कर नतिरेको र आयकर तर्फ लागत खर्च दाबी गरी आयकर समेत चुहावट गरेकोले आयकर ऐन तथा मुल्य अभिवृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको देखिएको छ ।

जसअनुसार राजस्व अनुसन्धान ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क) र (झ) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले सोही ऐनको दफा २ (छ १) हुन आउने मु.अ.करतर्फ दुई करोड ५२ लाख १४ हजार तीन सय ९५ र आयकर तर्फ पाँच करोड ६९ लाख ५८ हजार दुई सय ४६ रुपैयाँ समेत जम्मा हुन आउने कुल विगो आठ करोड २१ लाख ७२ हजार छ सय ४१ रुपैयाँ कायम गरी राजस्व चुहावट ऐन, २०५२ दफा २३ (१) बमोजिम तीनै जनासँग विगो असुल उपर गरी विगोको शतप्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ को उपदफा (१) (क) बमोजिम कैद सजाय हुन र सुनिलमान शाक्यको हकमा सोही ऐनको दफा २३ को उपदफा (३) बमोजिम मतियारलाई हुने सजाय हुन मागदाबी लिई अभियोग पत्र दायर गरिएको हो, विभागले भनेको छ ।

प्रतिक्रिया