‘राष्ट्रिय प्रशारण नियमावली २०७८ ले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई हनन् गर्दैन’

काठमाडौं । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले राष्ट्रिय प्रशारण नियमावली २०७८ ले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई हनन् नगर्ने बताएका छन् ।
आज नेपाल पत्रकार महासंघ डिजिटल मिडिया तथा अनलाइन विभागले आयोजना गरेको ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली २०७८ समिक्षा कार्यक्रम’ मा बोल्दै महानिर्देशक हमालले हालै संशोधन गरीएको सो नियमावलीले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई हनन् नगर्ने बताएका हुन् ।
उनले नागरिकको संविधान प्रदत्त हकलाई नियमावलीले कुण्ठित नगरेको बताए । सामाजिक सञ्जाललाई नियमन गर्नु आवश्यक रहेको भएपनि सो नियमावलीले सामाजिक सञ्जालको नियमनको कुरा नसमेटेको उनले स्पष्ट पारे ।
त्यस्तै, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले इन्टरनेटको विषय र प्रसारणको विषयलाई एउटै परिभाषा भित्र राख्न नमिल्ने बताए । राष्ट्रिय प्रसारण नियमावली ल्याउँदै गर्दा सरकारले सबै सरोकारवाला पक्षसँग छलफल गर्नुपर्ने भएपनि त्यसो नगरेको उनले उल्लेख गरे । नेपालमा भएका विद्यमान कानूनहरुको कार्यान्वयन गरेर नै यस क्षेत्रको विकृति र विसंगति हटाउन लाग्नुपर्नेमा जोड दिए ।
अनलाइन पत्रकार संघका पूर्वअध्यक्ष प्रवेश सुवेदीले नियमावलीमा थुप्रै प्राविधिक त्रुटीहरु रहेको बताए । सो नियमावलीले युट्युबरलाई ठेगान लगाउने भन्नेरुपमा मात्रै हेरेको उनले उल्लेख गरे । विद्यमान कानुनको कार्यान्वयन गर्न नसक्दा जति ऐन ल्याए पनि अर्थ नहुने उनले बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले राष्ट्रिय प्रशारण नियमावलीको सम्बन्धमा सरोकारवाला पक्षहरुबिच व्यापक छलफलको आवश्यकता रहेको बताए । ऐनहरु श्रमजिविको पक्षमा हुनुपर्नेमा उनको जोड छ । यद्यपी अहिले आएको नियमावलीको सम्बन्धमा हतारिएर टिप्पणी गर्नु नहुने पनि उनको तर्क छ ।
प्रतिक्रिया