निर्वाचनमा कांग्रेसले अन्य दलसँग गठबन्धन गर्नुहुन्न : महामन्त्री थापा

नेपालखोज २०७८ चैत २ गते २२:३८

बनेपा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन्। उनले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताए।

निर्वाचनमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उनले दोहो¥याए। पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने उनले दाबी गरे ।

आफ्नो पार्टीले आउँदो पाँच वर्षका लागि बहुमत ल्याएर व्यवस्था ठिक ढङ्गले सञ्चालन गरी जनताको अवस्थामा सुधार गर्ने, युवालाई कतार र मलेसिया जानबाट रोकेर ‘जनशक्ति बेच्ने’ हैन सामान बेच्ने देश बनाइने उन ठोकुवा गरे ।

सो अवसरमा महामन्त्री थापाले पार्टीको जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र तथा स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई सम्मान गरेका थिए भने अन्य दलबाट कांग्रेसमा नवप्रवेशी करिब २०० लाई क्रियाशील सदस्यता प्रदान गरेका थिए । आयोजकले १४औँ महाधिवेशनमा महामन्त्री थापालगायत केन्द्रीय सदस्यमा निर्वाचितलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया