बुधबार, जेठ १६, २०८१

पाँचौं राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने

नेपालखोज २०७८ चैत ३ गते १५:२८

काठमाडौं । पाँचौं राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग संघले स्थापना गरेको प्रदर्शनी केन्द्र एस्क्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनीको मुख्य आकर्षक एसीयामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने संघका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् । विसं २०७१ मा नारायणी नदी किनारबाट सुरु गरिएको यस प्रदर्शनी हरेक दुई/दुई वर्षमा गरिँदै आएको छ । प्रदर्शनीमा नेपालमा उत्पादित सबै यान्त्रीकरण, मेसिनरी सामग्री राखिनेछ ।

विश्वमा प्रचलनमा रहेका यन्त्रलाई समेत प्रदर्शनीमा राखिने र यसको प्रयोगका बारेमा समेत जानकारी दिईने उनले बताए । यसअघि कोहलपुर, धरानलगायतका जिल्लामा प्रदर्शनी गरिएको थियो । चितवनमा दोस्रो पटक प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । व्यावसायिकरुपमा कृषिजन्य उपकरणको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

यस प्रदर्शनीले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका कृषि उद्यमीलाई सहयोग पुग्ने संघकी केन्द्रीय सदस्य सुनिता नोमाफुकीले बताए । यस प्रदर्शनीले सरकारलाई समयसापेक्ष नीति निर्माणमा समेत सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया