मंगलबार, वैशाख २५, २०८१

खेलाडी स्थानन्तरण विवाद : असन्तुष्टि विषयमा विभिन्न चरणमा छलफल

नेपालखोज २०७८ चैत ३ गते २१:५२

काठमाडौं । नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरमा आयोजना हुँदैछ । बिगतको संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदै छन् । दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ । शहीद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानन्तरणको विषयमा विभिन्न क्लवले असन्तुष्टि जनाएका छन् ।

अक्सन हुने/नहुने दुविधाकाबीच सम्पन्न भएसँगै विशेष गरी ए डिभिजन खेलको क्लव मनाङ मस्र्याङ्दी, थ्री स्टार, संकटा तथा न्यूरोड टिम (एनआरटी)ले असन्तुष्टि जनाइरहेका छन् । यही विषयको सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपाललले अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरसँग गरेको कुराकानीको सम्पादित अंश यस प्रकार रहेको छ ।

एन्फाले नेपाल सुपर लिग (एनएसल) एन्फको कार्यक्रमको रुपमा अगाडि सारेको थियो । ए डिभिजन लगत्तै आयोजना हुन लागेको एनएसलको अक्सन पनि सम्पन्न भइसकेको छ । यद्यपि शीर्ष डिभिजनका क्लवले खेलाडी स्थानन्तरणको विषयमा असन्तुष्टि जनाइरहेका छन् । खासमा क्लवको असन्तुष्टि के विषयमा हो ?

एन्फाले फ्रेन्चाईज टोलीहरुलाई विभिन्न व्यापारिक घरानाहरुलाई फुटबलमा लगानी गर्नका लागि फ्रेन्चाईज लिगको परिकल्पना गरिएको हो । नेपाल सुपर लिग विशुद्ध एउटा फ्रेन्चाईज लिग हो र सोही अनुसार हामीले परिकल्पना गरेर एन्फाको कार्यक्रममा समावेश गरेका हौं । फुटबल विकासमा टेवा पुगोस् भनेर फुटबल प्रतियोगितासँगै विभिन्न व्यापारिक घरानाहरुलाई फुटबलमा ल्याउने प्रयास गरेका हौं ।

फुटबलमा व्यापारिक घरानाहरुको पनि लगानि भित्रियोस् भन्ने उद्देश्य हो । एनएसललाई सहयोग पुगोस् भनेर खेलाडी तथा नामावली पनि बनाएका छौं । एनएसएलको समयमा खेलाडीलाई क्लबले रिलिज गर्नुपर्छ भन्ने नियामावली राखेका छौं । लिग लगत्तै मोफसलका प्रतियोगिताहरु खेल्नुपर्ने समयमा खेलाडीलाई अक्सनमा समेट्न कतिपय क्लवको असहमति रहेको छ । एनएसलको आयोजकको सल्लाह बिना नै एनएसलको मिति आउनु क्लवहरुको गुनासो आएको छ । क्लवहरुको गुनासो सम्बोधनका लागि एन्फाले विभिन्न चरणका छलफल गरिरहेको छ । आज भोलि नै यस विषयले टुङ्गो लाग्ने विश्वास छ ।

क्लवहरुले गुनासो गरिरहेका छन् । विशेष गरी खेलाडी स्थानन्तरणको विषयमा क्लवहरुले असन्तुष्टि जनाइरहेका छन् । यस बाहेक क्लवको अन्य असन्तुष्टिहरु के हुन ?

यो विषय क्लबहरुको माध्यमबाट एन्फमा आएको छ । बैधानिक रुपमा करारमा रहेका खेलाडीलाई अक्सनमा राख्नु अगाडी क्लवसँग छलफल गरियोस भन्ने थियो । यस्तै क्लवका केही कठिनाईलाई एनएसएलले टुङ्ग्याइदियोस् भन्ने चाहना थियो । मोफसलका प्रतियोगितामा सहभागिता जनाईरहेको अवस्थामा अवरोध गरियोस् भन्ने पनि थियो । खेलाडीहरुको हकमा क्लवसँग छलफल नभएकोमा असन्तुष्टिको रुपमा लिएका छन् ।

फिफा र एएफसीबाट कुनै पनि देशमा समानान्तर लिग सम्भव हुँदैन भन्ने गाइडलाईन छ । अस्तित्वमा रहेको ए डिभिजन लिग वा नेपाल सुपर लिग मध्येमा कुन हुने हो भन्ने गाईगुई पनि चल्न थालेको छ । आधिकारिक लिग कुन हो ?

हामी यस विषयमा एकदमै क्लियर छौं । आयोजक एनएसएल, खेल्ने टिम होस्, एन्फा होस् या क्लव सबै यस विषयमा स्पष्ट छन् । नेपालको एउटै मात्र आधिकारिक लिग भनेको शहीद स्मारक लिग हो । ए डिभिजन लिग नै हो । यसैको च्याम्पियनले एएफसीको प्रतियोगिताहरु खेल्ने गर्छ । नेपाल सुपर लिग देशको एउटा फ्रेन्चाईज लिगको रुपमा लिएका छौं । यो प्रतियोगिता करिव साढे दुई महिना जति चल्छ । यो प्रतियोगिताबाट कुनै पनि क्लवले अन्य प्रतियोगितामा सहभागिता जनाउँदैन् । यो प्रतियोगिता विशुद्ध फ्रेन्चाईज प्रतियोगिता हो । व्यापारिक घरानाहरुले लगानीमा क्लवलको खेल्ने घरेलु प्रतियोगिता हो । यो लिग शहीद स्मारक लिगको प्रतिस्थापन वा विकल्पको रुपमा ल्याइएको प्रतियोगिता होइन । शहीद स्मारक नै नेपालको आधिकारिक लिग हो ।

क्लवहरुले असन्तुष्टि जनाइरहेको अवस्थामा र एन्फाले आफ्नो कार्यक्रम भनि रहँदा उत्पन्न विवाद समाधानका लागि फुटबलको अभिभावक संस्था एन्फाले कस्तो गृहकार्य गरिहेको छ त ? प्रतियोगिताका लागि अक्शन सम्पन्न भइसकेको छ ।

क्लवहरुले विज्ञप्ती जारी गरिसकेसँगै हामीले असन्तुष्ट क्लवहरुसँग बसेर छलफल गरिसकेका छौं । शुरुवातमा असन्तुष्टि जनाएको ८ क्लवसँग एन्फामा बसेर छलफल गरिसकेका छौं । एन्फाको बैठक पनि केही विषयमा सहमति भइसकेको छ । अक्शन अगाडि छलफल भएसँगै अक्शन रोक्नका लागि एनएसएललाई पत्र काटे पनि ढिला भएको हो । पत्र एकदमै ढिला भएकोले रोक्ने सम्भव भएन । आयोजकले अक्शन गरेपछि सबै विषयमा खुला छौं भन्ने कुरा आएपछि अहिले असन्तुष्टि विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ । दुबै पक्षसँग हामीले वार्ता गरिहेका छौं । छलफल करिव -करिव अन्तिम चरणमा पुगेको मैले बुझेको छु । क्लवले आधिकारिक धारणा पनि राख्दैछन् । त्यस विषयमा एन्फा अध्यक्षसँग क्लवहरुको भेट पछि एनएसएल क्लबहरुलाई औपचारिक रुपमा छलफलका लागि आह्वान गर्छौं । त्यसपछि एनएसल क्लव र एन्फा बसेर आगामी दिनमा यस्तै विवाद नदोहोरियोस् भन्ने लक्ष्यका साथ टुङ्ग्याउँछौं ।

एनएसल एन्फाको कार्यक्रम भनिरहँदा दोस्रो संस्करण हुन लागेको छ । अहिलेसम्म क्यालेन्डरमा समावेश छैन । आउँदो सिजनमा समावेश होला । सँगै उत्तिकै मोफसलका प्रतियोगिता पनि रहेका छन् । कसरी व्यवस्थापन गर्नुहुँदै छ त एनएसएललाई ?

मोफसलका विभिन्न गोल्डकप रहेका छन् । ती गोल्डकप भएकोले समावेश गर्न केही कठिन त पक्कै छ । सामान्य अवस्थामा भदौै,असोजदेखि कात्तिकको २० सम्मलाई एनएसएलका लागि समय दिने योजना बनाएका छौं । त्यस लगत्तै एउटा नकआउट प्रतियोगिता गर्ने वा शहीद स्मारक लिगलाई आयोजना गर्ने योजनामा छौं । फागुनसम्म लिग चलिरहेपछि त्यसपछिको समय चैत वैशाख, जेठ गोल्डकपका लागि छुट्याउने सोचमा छौं । जसका कारण मोफसलका प्रतियोगिता आयोजना गर्नेका लागि सजिलो हुन्छ ।

अहिलेको अवस्थामा लिग लगत्तै एनएसएल आयोजना हुँदा केही कठिनाई आइरकेको अवस्था छ । अर्को वर्ष आयोजना हुने एनएसएलका लागि अक्शन अगाडि खेलाडी रिलिजको बाटो खुला गर्नेछौं । त्यसपश्चात् रिलिज भएका खेलाडीमात्र अक्शनमा समावेश हुन पाउने प्रावधान तोक्नेछौं । समग्ररुपमा सबैलाई समेट्नका लागि राष्ट्रिय लिग पनि आयोजना गर्नुछ । मोफसलका प्रतियोगिता पनि उत्तिकै छन् । शहीद स्मारक ए, बी, सि डिभिजनका लिग आयोजना गर्नुपर्ने हुन्छ । महिलाका उत्तिकै प्रतियोगिता रहेका छन् । हामी यी सबैलाई नजुध्ने गरिकन भदौबाट सिजन शुरु गर्ने तयारी गरिहेका छौं ।

तोकिएको मितिमा नै एनएसएल आयोजना हुन्छ नि ?

तोकिएको मितिमा नै एनएसएल हामीले आयोजना गर्नुपर्छ । तोकिएको मिति भन्दापछि धकेलिएको अवस्थामा राष्ट्रिय टोलीको तयारीलाई असर गर्छ । हामीले एशियन कप क्वालिफायर खेल्दैछौं । हामी अत्यन्तै कठिन समूहमा रहेका छौं । जोर्डन, कुवेत र इण्डोनेसिया जस्तो समूहमा रहेका छौं । तयारी राम्रो गर्नुपर्छ । त्यसका लागि मिति तलमाथि भए असर पर्छ । तसर्थ एनएसएल छिटो सकेर राष्ट्रिय तयारीमा लाग्नुपर्नेछ । समयमा नै सम्पन्न गर्नका लागि क्लवहरुसँग छलफल गरिहेका छौं । कति जटिल विषय त छलफलपछि किनारा लागेका छन् । टेबलबाट नै समाधान हुनेमा हामी विश्वस्त छौं ।

एनएसएल आयोजक र अभिभावक संस्थाबीच एनएसएल आयोजना सम्बन्धमा के–के विषयमा साझेदारी भएको छ ?

एनएसएलमा हामीले आर्थिक पाटोमा खासै केही कुरा भएको छैन । व्यापारिक घरानाहरुलाई फुटबलमा आकर्षण गर्न कोशिस गरेका हौं । आयोजकले प्रतियोगिता मनदेखि नै आयोजना गरेको पाएका छौं । अघिल्लो संस्करण कोरोना महामारीको बीचमा पनि बन्द रंगशालामा खेलाएर सफल तरिकाले आयोजना गर्न सफल हुनुभयो । सोही प्रतियोगिताबाट खेलाडीको आर्थिक हिसावमा राम्रो भएको पाएका छौं ।

अहिलको अवस्थामा हामीले आयोजकले प्राविधिक पाटोमा सहयोग गरेका छौं । रेफ्रि खटाउने, मैदान व्यवस्थापन, परिषदबाट स्वीकृति लिने काम, प्रतियोगिताका नियामावली हेरिदिने काम, खेलाडी दर्ता, खेलाडी स्थानतरण, अनुसाशन गरी विभिन्न पाटामा हामीले हेरेका छौं । बाँकी आयोजनाको जिम्मा उहाँहरुले गर्नुभएको छ । परम्परागत तरिकाले चलिरहेको फुटबल भन्दा भिन्न फुटलब एनएसएलमा पाएका छौं । जुन हामील लिगमा पनि अनुसरण गर्ने प्रयास गरेका छौं । आयोजक एनएसएल र एन्फाबीच फुटबलको जितका लागि सहमति भएको छ ।

प्रतिक्रिया