‘सुलभ एवं सहज स्वास्थ्य सेवा प्राथमिकतामा, जनताको मन जित्ने गरी काम गर्नू’

नेपालखोज २०७८ चैत ४ गते ६:५५

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पु¥याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पु¥याइने बताए ।

सीमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको जानकारी दिए ।

गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारले यथासक्य काम गर्दै आएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको क्षमताअनुसार काम गर्दै आएको बताए ।

तीन शय्याका लागि स्वीकृति पाएको भए पनि हाल अस्पतालमा १५ शय्या चालु अवस्थामा छन् । कुल आठ रोपनी जमिनमा सात करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । दुई जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक एक हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

जनताको मन जित्ने गरी काम गर्न आग्रह

मुख्यमन्त्री पोखरेलले कांग्रेसका कार्यकर्तालाई जनताको मन जित्ने गरी क्रियाशील बन्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका विभिन्न एकाइद्वारा बिहीबार बागलुङमा आयोजित कार्यक्रममा उनले राष्ट्रियदेखि स्थानीय तहसम्मका समस्याको समाधान गर्ने पार्टीका रुपमा पार्टीले आफ्नो पहिचान बनाएको उल्लेख गर्दै जनताको भावना अनुसार पार्टी सङ्गठनलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक घटनाक्रम, राष्ट्रको आवश्यकताका कारण वर्तमान समयमा केन्द्र एवं प्रदेश सरकारमा कांग्रेसले नेतृत्व गरिरहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी लाग्नुपर्ने बताए । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता मणिभद्र शर्मा कँडेलले जनताका हरेक समस्यामा कांग्रेस छ भन्ने अनुभूति हुने गरी जनस्तरसम्म पार्टी सङ्गठनलाई क्रियाशील गराउनुपर्ने बताए ।

मुख्यमन्त्रीको बागलुङ भ्रमणलाई लक्षित गरी नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङ, नेपाली कांग्रेस गलकोट नगरपालिका– ५ वडा कार्य समितिले छुट्टाछुट्टै रुपमा अगुवा कार्यकर्ता भेला राखेका थिए ।

मुख्यमन्त्रीले बिहीबार नै वडिगाड–२ वाग्लुङमा राना सेवा समाज सामुदायिक पर्यटकीय पूर्वाधार भवन निर्माणको शिलान्यास गर्नुभयो भने गलकोट नगरपालिका–९ पछुवामा सात वर्ष यता ठेक्का सम्झौता भएर पनि निर्माण बढ्न नसकेको पुलबारे स्थानीयसँग जानकारी लिएका थिए ।

प्रतिक्रिया