बिहीबार, जेठ २, २०८२

जापानका प्रधानमन्त्री शनिबार भारत भ्रमणमा आउने

नेपालखोज २०७८ चैत ४ गते ९:१३

नयाँ दिल्ली । जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउने भएका छन् । दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उनले १४ औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउनुहुने बताइएको छ । साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिनुभएको हो ।

उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्ने भएका छन् । हरेक बर्ष आयोजना गरिने भारत—जापान बार्षिक सम्मेलनको १४औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ ।

यसअघिको बार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो । अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए ।

भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ । रासस/एएनआई

प्रतिक्रिया