दुई वर्षमा १२ प्रतिशत मात्रै सडककाे काम

काठमाडौं । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुंगा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ ।
पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याबिन जाली भर्ने लगायतका कामका लागि काठमाडौंस्थित शंकरमाली कन्स्ट्रक्शनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरबाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासीसमेत रहेका जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गलबहादुर गुरुङले बताए ।
उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले २३ करोड दुई लाख ८० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई ६ करोड ९१ लाख ८५ हजार रुपैयाँ निकासा गरिसकेको छ । कार्यालयका अनुसार हालसम्म १२ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको छ । समयमा काम सम्पन्न नभएपछि आगामी असार मसान्तसम्म म्याद थप भएको कार्यालयले जनाएको छ । कामको प्रगति हेरेर बाँकी म्याद थपको निर्णय हुने कार्यालयले जानकारी दिएको छ ।
विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्र्याक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । बर्सातका बेला सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको पहलमा अलपत्र बनेको उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति भएको छ । निर्माण व्यवसायीसहित हालै बसेको बैठकले उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति गरेको हो ।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेशकुमार घिमिरे, इन्जिनियर अमरेन्द्र यादव, धनमाया मिश्र लगायतको उपस्थितिमा भएको बैठकमा निर्माण व्यवसायी डिबी कार्कीले निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
ठेक्का सम्झौतामा भएअनुसार जनशक्ति ल्याउने, आवश्यक उपकरण परिचालन गरी कार्य अगाडि बढाउने, अबको निर्माण सुरु गरेपछि कार्य प्रगतिका बारेमा निर्माण व्यवसायीले पूर्वाधार कार्यालयलाई मासिक रुपमा जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्नका लागि पूर्वाधार कार्यालयले आवश्यक समन्वय गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।
सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले बर्सातमा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापरबाहीका कारण बर्सातमा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको गुरुङले बताए । उनले भने, ‘निर्माण व्यवसायीले हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको बताएको छ, तर देखिने गरी केही काम भएको छैन । निर्माण व्यवसायीले काम अगाडि बढाउँछु भनेर प्रतिबद्धता जनाएकाले केही आशावादी भएका छाैँ ।’
मेयर उपमेयर कप सत्यवती छात्रा फुटबलको फाइनलमा
व्यास नगरपालिकाको आयोजनामा जारी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा छात्रातर्फ सत्यवती मावि फाइनलमा प्रवेश गरेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माविको खेलमैदानमा आज सम्पन्न खेलमा वाराही आवासीय माविलाई पराजित गर्दै सत्यवती फाइनलमा प्रवेश गरेको हो । सत्यवती ४–० गोल अन्तरले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । सत्यवतीका तर्फबाट झरना राईले तीन र उमिता राईले एक गोल गर्नुभएको थियो । छात्रातर्फ चार विद्यालयको सहभागिता रहेको छ ।
बिहीबारदेखि सुरु प्रतियोगिताअन्तर्गत छात्रतर्फ सत्यवती मावि, बाराही आवासीय मावि र महेन्द्रज्योति मावि विजयी भएको छ । सत्यवती मावि र पराशर कलेजबीच भएको खेलमा सत्यवती ६–१ ले विजयी भएको व्यवस्थापन विद्यालय निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए । बाराही आवासीय मावि र शिव पञ्चायन माविबीच भएको दोस्रो खेलमा बाराही ३–१ र महेन्द्रज्योति र क्यामिन माविबीच भएको तेस्रो खेलमा महेन्द्रज्योति १–० ले विजयी भएको छ ।
विद्यालयस्तरदेखि नै विद्यार्थीमा खेलप्रतिको रुचि बढाउने उद्देश्यसहित नगरपालिकाले विगत वर्षदेखि मेयर तथा उपमेयर फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ चार विद्यालयको सहभागिता रहेको शिक्षा तथा सामाजिक विकास शाखाप्रमुख उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, द्वितीय हुनेलाई २० हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगदका साथै ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया