शुक्रबार, जेठ ११, २०८१

सिँचाइमा खपत हुने विद्युत् निःशुल्क गरिने

नेपालखोज २०७८ चैत ४ गते १६:१५

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने घोषणा गरेकी छन् । उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउन आफूले सिँचाइमा खपत हुने विद्युत् निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन् ।

गत मंसिर १ बाट सिँचाइमा खपत हुने विद्युत्‌को शुल्क ५० प्रतिशत घटाएको उल्लेख गर्दै उनले अव त्यसलाई निःशुल्क बनाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउन आफ्ना लागि परेको बताएकी छिन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१औं वार्षिक साधारणसभामा मन्त्री भुसालले नेपालमा उत्पादित हुने वस्तुहरु आयात नगर्न पनि व्यवसायीलाई पटकपटक आग्रह गरीन् ।

उनले नाफा हुन्छ भन्दैमा प्लाष्टिकका फूलहरु आयात गर्ने काम व्यवसायीहरुले गर्न नहुने धारणा राखिन् । उद्योगीहरुले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्‍याउने खालको बस्तुको उत्पादन र विक्रीवितरणमा ध्यान दिनुपर्ने उनको भनाई छ । मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका वस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याएकी छन् । उनले भनिन्, ‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौं भनेर म विशेष ढंगले आग्रह गर्न चाहन्छु । हामी धेरै कुरा गर्छौ । धेरै कुरा माग्छौं । तर कमसेकम व्यवसाय पनि त्यस्तो गरौं, जसले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्‍याउँछ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजारको मागअनुसार हस्तकला सामग्रीहरुको बिक्री-वितरण गर्न उद्योगीहरुलाई आग्रह गरे । उनले हस्तकलाका सामग्रीको प्रवर्द्धनका लागि औद्योगिक ग्राम बनाउनुपर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासका लागि काठमाडौं महानगरपालिकाकाले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकलाका सामग्रीहरुको उत्पादन र विश्व बजारमा निर्यातका लागि सहयोग गर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे । उनले कोभिडका लागि हस्तकला क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई पलायन हुन नदिन आफूले सक्दो पहल गर्ने पनि बताए ।

मेयर महर्जनले भूकम्पले ध्वस्त बनाएका सम्पदाहरुको पूर्णनिर्माणको कामलाई आफूहरुले स्थानीय बासिन्दाकै सहकार्यमा अघि बढाएको पनि स्मरण गराए ।

प्रतिक्रिया