विश्वकप लिग टू : यूएईसँग नेपाल ४८ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । दुबईमा आज भएको खेलमा नेपाल आयोजक यूएईसँग ४८ रनले पराजित भएको हो ।
यूएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । ६० बलमा ४ चौका प्रहार गरेका रोहित अर्धशतकबाट ४ रनले चुके ।
खराब सुरुवात गरेको नेपाललाई रोहित र ज्ञानेन्द्र मल्लको साझेदारीले उकास्ने प्रयास गरेको थियो । ज्ञानेन्द्र मल्ल २८ रनमा आउट हुँदा ओपनर कुशल भुर्तेलले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
यूएईको जितमा बसिल हमिदले ४ तथा जुनेद सिद्दिकीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो । यूएईका रिजवान सीपी र रोहन मुस्तफाले समान ४०/४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।
यस सिरिजमा नेपालको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।यूएईको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा यूएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेलमा यूएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ ।
प्रतिक्रिया