विद्यालय, खानेपानी र सडकका संरचना बनाउँदै बेरोजगार

बलेवा । बागलुङको तमानखोला गाउँपालिका-१ बोंगादोभानकी सुशीला कामी दिनभर गाउँपालिकाले खटाएको ठाउँमा काम गर्छिन् । न्यून आय भएको परिवार धान्न धौधौ भएकी सुशीलाले काम पाएपछि अहिले परिवार पाल्न सजिलो भएको छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँमै काम पाएकी छन् ।
दिनभरि काम गरेपछि साँझ उनले नेपाल सरकारले तोकेको पारिश्रमिक पाउछिन् । महिनामा एकैपटक आउने भए पनि सुशीलाले दिनदिनै गर्ने कमाइका आधारमा खर्च गर्न र उधारो चलाउन सहज भएको छ । कहिले विद्यालयको खेल मैदान निर्माण त कहिले गोरेटो बाटो निर्माणका काममा खटिने सुशीला र उनका साथी पहिराले क्षति पुर्याएका सरकारी संरचनामा फलामे तारजाली लगाउने, खानेपानीको पाइपका लागि लाइन खन्ने काम पनि गर्छिन् ।
एकतर्फ सामाजिक काम गर्न पाएकामा उनिहरु दङग छन् भने अर्कोतर्फ गाउँमा ज्याला मजदुरी गर्दाभन्दा धेरै पारिश्रमिक पाउछन् । तमानखोला गाउँपालिकाले विद्यालयमा खेलमैदान, पर्खाल लगाउने, गोरेटोबाटो बनाउने, खानेपानीका संरचना बनाउने र चौतारी, पोखरीको संरक्षणलगायत काममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीलाई लगाउने गरेको छ ।
तमानखोला–२ कटेरी गाउँमा रहेको जनज्योति आधारभूत विद्यालयको खेलमैदान बनिरहेको छ । खेलमैदान निर्माणका लागि विद्यालयले जग्गा मात्रै देखाइदिएको हो । बाँकी काम प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीले गरिरहेका छन् । यो त एउटा उदाहरण मात्रै हो । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यस्तै कैयौँ काम गरेको छ ।
गाउँपालिकाका रोजगार संयोजक चेतलाल चालिसेले भने, ‘हामीले मजदुर आवश्यक हुने ठाउँमा रोजगार कार्यक्रममा सहभागीलाई लगाउने गरेका छौँ, रोजगारीमा सहभागी निकै खुसीका साथ काम गरिरहेका छन् ।’ सो गाउँपालिकामा ६६८ बेरोजगारको सूचीमा सूचीकृत छन् । त्यसमध्ये ४०० जनाले यस वर्ष पनि काम गरिरहेका छन् । असी बेरोजगारलाई १०० दिनका दरले काम लगाउने गरी नेपाल सरकारले दिएको शःसर्त अनुदानमा गाउँपालिकाले ४०० जनालाई काम लगाइरहेको चालिसेले बताए ।
उनले भने, ‘बेरोजगारको सूचीमा रहेकामध्ये अधिकांशको अवस्था उस्तै छ, सरकारले बनाएको मापदण्डमा ४०० जना नै पर्छन् । सबैलाई सहभागी बनाउँदा ६०/७० दिनका दरले काम पाउँछन्, छ महिना खान नपुग्ने सबैलाई काम पाउँदा घर चलाउन सहज हुन्छ ।’ कार्यक्रममा सहभागीले दिनको ५७७ रुपैयाँका दरले पारिश्रमिक पाउँछन् । यो पारिश्रमिक तमानका गाउँमा ज्याला मजदूरी गर्दा पाउने पारिश्रमिकभन्दा धेरै हो । जिल्लामा कायम भएको दर ८०५ रुपैयाँ छ तर प्रधानमन्त्री रोजगार कार्यक्रमले तय गरेको दररेटअनुसार पारिश्रमिक दिने गरिएको उनले बताए ।
उनले भने, ‘गाउँमा महिला र पुरुषमा पारिश्रमिक फरकफरक छ तर कार्यक्रममा सबैको समान पारिश्रमिक हुन्छ । समान कामका लागि समान ज्याला कायम गराउन कार्यक्रम प्रभावकारी बन्दैछ ।’ गाउँपालिकामा तीनै तहको सरकारको नजर नपुग्ने क्षेत्रमा रोजगार कार्यक्रमले सहयोग गरेको छ ।
प्रतिक्रिया