श्रममन्त्री श्रेष्ठ र सिसेल्सका श्रममन्त्रीबीच द्विपक्षीय श्रम सम्झौता काे सहमति

काठमाडौं । गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गरेका छन् । उनीहरुबिच नेपाल र सिसेल्सको द्धिपक्षीय भेटवार्तामा हित र आपसी सम्वन्धबारे छलफल भएको छ ।
रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुंगोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्सबाट यसअघिप्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिदैं सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताएका थिए ।
न्युनतम योग्यता, भाषागत क्षमता, न्युनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले नेतृत्व गर्नेछन् ।
अहिले १२ सय ५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीलाई ल्याउन इच्छुक रहेको बताएका थिए । सिसेल्स अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिक कार्यरत छन् ।
द्विपक्षीय भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवा पनि नेपालीलाई रोजगारी दिन सकिने बताए थिए । नेपाल र सिसेल्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।
प्रतिक्रिया