बुधबार, वैशाख २६, २०८१

‘अमेरिका पुगे पनि कलाकारिताको भूतले छाडेन’

नेपालखोज २०७८ चैत ६ गते ९:५३

अमेरिकामा ग्लोबल नेपाली फिल्म अवार्ड २०२२ आयोजना हुँदै छ । आगामी जुलाइ ३ तारिखमा फिल्म अवार्ड आयोजना हुने भएको हो । पाँचौं संस्करणसम्म आइपुग्दा नेपाली फिल्म अवार्डले विभिन्न आरोह-अवरोह पार गरेको छ । अयोजकले विभिन्न तीतामिठा अनुभव भोगेका छन्, तर पनि सफल हुँदै छन् । अमेरिकामा आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्ड विषयको सेरोफेरोमा केन्द्रित हुँदै नेपालखोजका लागि केशव भट्टराईले ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष कलाकार नवराज श्रेष्ठसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको अंश :

हाइलाइट्स
-पछिल्लो समय म आफ्नो बिजिनेसमा बढी फोकस गरिरहेको छु । कोरोना महामारीपछि ग्लोबल नेपाली फिल्म अवार्ड सफल बनाउँ भनेर लागिपरेको छु । अवार्डकै सिलसिलामा अमेरिकाबाट काठमाडौं आएको हुँ । अवार्डको काठमाडौंमा अनाउन्समेन्टसमेत गरेका छौं ।
-म संघर्ष गर्ने कलाकार हुँ, विदेश गएँ, तर कलाकारको भूतले कहिल्यै छाडेन । केही गर्नुपर्छ भनेर नायक कृष्ण मल्लसँग अमेरिकामा सहकार्य भयो । म कलाकारको रूपमा नभए पनि कलाकारिताले मलाई कहिल्यै छाडेन ।
-एकपल्ट म पूर्ण रूपमा कलाकारिता लाइनबाट टाढा हुन खोजेको थिएँ, तर सकिनँ । अमेरिकामा केही गर्न सकिन्छ कि भनेर साथीहरूसँग सहकार्य गर्दै प्रया गरेँ । सुरुमा हामीले यसलाई फिल्म फेस्टिभलका रूपमा सोचेका थियौं । यसलाई मैले कन्टिन्यु दिइराखें ।
-फिल्म अवार्ड आफूसँग पैसा भएर गर्ने होइन, सबैसँग सहकार्य गरेर गर्नुपर्ने कार्य हो । नेपाली फिल्मलाई विश्वमा चिनाउने उद्देश्यले यो ग्लोबल नेपाली फिल्म अवार्ड सन् २०१६ देखि सुरुवात गरिएको हो ।
-नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्डको अध्यक्ष म आफैं र बीआरटी नेपाल डटकम का साथीहरू, नेपाल टेलिभिजन यूएसएलगायतसँग सहकार्य गरेर हामीले सन् २०१६ मा पहिलोचोटि आयोजना गर्यौं ।
-अमेरिकालगायत विभिन्न देशमा काम गरेर बसिरहेकाहरूलाई कसरी फिल्मी क्षेत्रमा पनि ल्याउन सकिन्छ भन्ने पनि हाम्रो उद्देश्य हो । समग्रमा गाउँदेखि विश्वसम्म नेपाली चलचित्रलाई चिनाउने उद्देश्यले यो ग्लोबल नेपाली फिल्म अवार्ड स्थापना गरेका हौं ।
-फिल्म अवार्ड दिने भनेको नेपालको साथै विदेशमा बसेर चलचित्रको क्षेत्रमा योगदान दिनेलाई हो । यो अवार्ड पाउनलाई नेपालको हलमा चलचित्र प्रदर्शन भएको हुनुपर्छ । पूर्ण रूपमा पारदर्शिता अपनाएर उचित मूल्यांकन गरेर मात्रै अवार्ड दिने गरिएको छ ।

प्रतिक्रिया