बाँकेको खजुरा क्यान्सर अस्पतालमा बिरामीकाे चाप बढ्दै

काठमाडौं । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ । अस्पतालले सेवा विस्तार गरे सँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौं पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ।
खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत सेवा विस्तार गरेपछि चितवन र काठमाडौंबाट समेत बिरामी आउन थालेको अस्पतालका मेडिकल फिजिसिष्ट डा. तीर्थराज अधिकारीले जानकारी दिएका छन् । उनले पश्चिम क्षेत्रका बिरामीले आफ्नै ठाउँमै सुलभ र गुणस्तरीय उपचार सेवा पाएको बताए । तीन करोड रुपैयाँ बढीको ब्राकीथेरापी मेसिन जडान गरिएपछि खजुरामा देशभर बाटै बिरामी आउन सुरु गरेका छन् ।
अन्तर्राष्ट्रिय मेडिकल फिजिक्स सर्टिफिकेसन बोर्ड बाट रेडियसन अनकोलोजी फिजिसिष्टको मान्यता प्राप्त डा. अधिकारी र रेडियसन अनकोलिष्ट डा . मुकेश यादवले ब्राकीथेरापी सेवा दिइराखेका छन् । अस्पतालमा ब्राकीथेरापी मेसिन जडान गरेपछि पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया सुरु भएको छ । अस्पतालमा नयाँ प्रविधिको प्रयोग बढिरहेको अस्पतालका निर्देशक कृष्ण आचार्यले बताए ।
उनका अनुसार अस्पतालमा डिपार्टमेन्टहरू थपिएका छन् । बिरामीको चाप बढ्दो छ , अहिले बिरामीहरुमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोग रहेको छ । वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा जाने गरेका बिरामी खजुरा आउन थालेका छन् । दुई ठूला अस्पतालमा ब्राकीथेरापी मेसिन बिग्रिएपछि खजुरामा बिरामीको चाप बढेको चिकित्सकहरू बताए । देशभरमै तीनवटा सरकारी अस्पतालमा मात्रै ब्राकीथेरापी मेसिन रहेका छन् ।
ब्राकीथेरापी मेसिन प्रयोग गरेर पाठेघरको शल्यक्रिया सात दिनको फरकमा तीन पटक गरिन्छ । तीन पटक शल्यक्रिया गर्दा खजुरामा ४५ हजार रूपैयाँ खर्च लाग्छ । निजी अस्पतालमा यही सेवा लिदा एक लाख रूपैयाँ खर्च हुने गर्दछ । खजुरामै सेवा पाएपछि पश्चिम नेपालका जनताको समय, पैसा बचेकाले हरेक किसिम बाट लाभदायक भएको खजुरा क्यान्सर अस्पतालका संस्थापक अध्यक्ष एवं खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
कक्षपतिको नेतृत्वमा महायज्ञ गरेर संकलन भएको रकमबाट क्यान्सर अस्पतालको निर्माण सुरु गरिएको हो । पछि यसलाई सरकारीकरण गरेर बाँकेका नेता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा अस्पतालको नामाकरण गरिएको थियाे ।
प्रतिक्रिया