बिहीबार, वैशाख २०, २०८१

प्रधानमन्त्री देउवा खोटाङ जाँदै, मोटरेबल पुलको उद्घाटन गर्ने

नेपालखोज २०७८ चैत ७ गते ११:११

काठमाडौ‌ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (सोमबार) खोटाङ जाने भएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उनी खोटाङ जाने भएका हुन् ।

प्रधानमन्त्री देउवाले मध्याह्न साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री काठमाडौँ फर्कने कार्यक्रम छ ।

साप्सुखोलामा पक्की पुल गत साउनमा निर्माण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने उक्त पुल रु पाँच करोड ६० लाखमा निर्माण गरिएको हो ।

विसं २०७६ असार ११ गते शिलान्यास गरिएको सो पुल ४० मिटर लामो छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा तोकिएको समय अगाडि नै पुल निर्माण गरिएको हो ।

पुल निर्माणपछि दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानी गर्न सहज भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थललाई सडक सञ्जालसँग जोड्ने गरी साप्सुखोलामा पक्की पुल निर्माण गरिएको हो ।

प्रतिक्रिया