बुधबार, असार १८, २०८२

आईपीयूको १४४औं सम्मेलन इन्डोनेशियाको बालीमा सुरु

नेपालखोज २०७८ चैत ७ गते १२:०६

काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४४औं सम्मेलनमा इन्डोनेशियाको बालीमा आइतबार साँझ सुरु भएको छ । विश्वभरबाट १०० भन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी रहेको छ ।

अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा आइतबारदेखि सुरु सम्मेलन चैत्र १० गतेसम्म चल्नेछ । सम्मेलनमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाले ‘शून्य उत्सर्जन प्राप्त गर्नः जलवायु परिवर्तन सम्बन्धी कार्यमा संसदको परिचालन’ विषयमा बोल्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड १९ विरुद्धको लडाइँमा नेपालको संसदले गरेका गतिविधिहरुका सम्बन्धमा समेत अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । सोही अवसरमा गभर्निङ काउन्सिलको २०९ औँ सत्रमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा अनिता देवकोटा र भैरव सुन्दर श्रेष्ठले सहभागिता जनाउने छन् ।

अध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्की र उमाशंकर अरगरिया सहभागी रहेका छन् ।

त्यसैगरी संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाल, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय भ्रमण टोलीमामा सहभागी छन् । सम्मेलनमा सहभागी भएर प्रतिनिधिमण्डल चैत्र ११ शुक्रवार नेपाल फर्कनेछ ।

प्रतिक्रिया