आइतबार, भदौ ३०, २०८१

दुर्घटनाको पुष्टि नभईकनै श्रद्धाञ्जली र शोक व्यक्त कति सान्दर्भिक ?

नेपालखोज २०७९ जेठ १६ गते १२:३३

काठमाडौं । तारा एयरको ‘नाइन एनएइटी’ विमान जेठ १५ गते आइतबार बिहान हराउनेबित्तिकै देशभर चिन्ताको विषय भयो । यता केही व्यक्ति भने विमान दुर्घटना सम्बन्धमा सामाजिक सन्जालमा अनुमानित खबर सार्वजनिक गर्न व्यस्त भए ।

‘बिहानै दुखद खबर आयो, विमान दुर्घटनामा यात्रुको मृत्यु’ भनेर केही व्यक्ति तथा सञ्चारमाध्यमले समाचार पोस्ट गर्न पनि भ्याए । अनुमानका आधारमा पुष्टि नभएको खबर सार्वजनिक गरे । यता अध्ययन गरेर समाचार प्रकाशन तथा प्रसारण गर्ने जिम्मेवार सञ्चारमाध्यमहरुले भने विमान हराइरहेको र खोजीको पहलका सम्बन्धमा खबर सम्प्रेषण गरिरहेका थिए ।

‘रिप लेखौं’ भन्नेसम्म सामाजिक सन्जालमा पोस्ट गरिए । वास्तवमा घटनाको पुष्टि नभईकन यसरी संवेदना व्यक्त गर्नेमा पदमा बसेका जिम्मेवार व्यक्ति पनि भेटिए । कतिपयले भारतमा दुर्घटना भएको एक विमानको टुक्रा राखेर श्रद्धाञ्जलीसमेत व्यक्त गरे, समवेदना व्यक्त गरे ।

घटनाको पुष्टि नभईकन अनुमानित समाचार तथा अर्कै विमान दुर्घटनाको फोटो सार्वजनिक गर्नु दुःख परेकाहरूमाथि अझ मर्माहत बनाउनु हो । अर्कातिर लज्जाजनक विषय पनि हो । केही समयपछि धेरैको अनुमान सत्य त भयो होला , तर पुष्टि नभईकन सार्वजनिक गरेका खबरले पर्ने प्रभावका सम्बन्धमा विचार गर्दा राम्रो हुने देखिन्छ ।

अनुमानित समाचार सम्प्रेषण गर्नेहरूले पनि आफूले आचारसंहिताको पालना गरेको छु कि छैन भनेर ख्याल गर्दा राम्रो होला । नत्र ‘कागले कान लग्यो भनेर कागको पछि दौडिनु’ जस्तै हुनेछ ।

विडम्बनै मान्नुपर्छ आइतबारदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सोमबार बिहान मात्रै नेपाली सेना आधिकारिक पुष्टि गरेको छ । सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको भन्दै सेनाका प्रवक्ताले सामाजिक सन्जालमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया