निर्वाचन आयोगका गतिविधिप्रति ‍ओली असन्तुष्ट

नेपालखोज २०७८ चैत ७ गते १४:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धी निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिह्नको रङसमेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले कांग्रेसको निर्वाचन चिह्न रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिह्न हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । काठमाडौंमा आजबाट सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले हरियो रङ रुख अनकूल हुने गरी किन निर्वाचन चिह्नको रङ रोज्न परेको भनि निर्वाचन आयोगसँग प्रश्न गरे । उनले निर्वाचन आयोगसँग आफ्नो पार्टीका लागि रातो सूर्यअनुकूलको रङ राख्न पनि माग गरे ।

दलहरुसँग परामर्शसमेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचनसम्बन्धी तयारीको कामलाई अघि बढाएको अध्यक्ष ओलीको आरोप थियो । उनले दलहरुको निर्वाचन चिह्नको रङ ब्ल्याक एन्ड ह्वाइट भएको भए मान्य हुने धारणा राखे । निर्वाचन आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिरहा काण्ड दोहोरिन सक्ने भन्दै मतपेटिकाको सुरक्षा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले सचेत गराए ।

अध्यक्ष ओलीले दलहरुसँग परामर्श नगरी निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए । उनले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर तीनवटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै सोहीअनुसारको तयारी गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

प्रतिक्रिया