एमालेबाट स्थानीय तहको उम्मेद्वार बन्न यस्ता नियम ?

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए । एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाअध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ ।
प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने बताए ।उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले निर्णय गर्नेछ । विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ ।

त्यसैगरी लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताए । उनले भने, ‘स्थानीय तहका उम्मेदवारहरुको सिफारिस गर्दा वडाध्यक्षहरु, वडा सदस्यहरुको सिफारिस वडा कमिटीहरुले गर्ने र त्यसको निर्णय चाँही पालिका कमिटीहरुले गर्नेछ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सिफारिस गाउँपालिका कमिटीहरुको सुझावमा जिल्ला कमिटीले गर्छ । र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले निर्णय गर्छ । नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि त्यसको निर्णयचाँही प्रदेश कमिटीले गर्छ । बाँकि महानगरपालिकाको मेयर, उपमेयरको निर्णय चाँही प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटिले गर्छ ।’
पार्टीमा प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि आवश्यक विभागहरु गठन गर्ने अनुमति आवश्यक्ता अनुसार प्रदेश र जिल्ला कमिटीलाई दिने निर्णय पनि बैठकले गरेको छ ।




प्रतिक्रिया