गठबन्धनका दलहरु एक्लाएक्लै मित्रवत ढंगले चुनावमा जाउँ : उपेन्द्र यादव

काठमाडाैं । सत्तासाझेदार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताएका छन् । सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष यादवले सबै तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको प्रष्ट पारेका हुन् ।
उनले सबै तहमा गठबन्धन सम्भव छैन, जहाँजहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौं, जहाँजहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरु एक्लाएक्लै मित्रवत ढंगले चुनाव लडने बताए । अध्यक्ष यादवले मधेसी जनताको अधिकारको लागि आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट संघर्ष गरिरहने बताए । उनले निर्वाचनलाई कम खर्चिलो बनाउन निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको अडान पनि दोहोर्याए ।
अध्यक्ष यादवले संविधानको संशोधन, परिमार्जन र सुधार गर्नुअघि पुनर्लेखन आवश्यक रहेको पनि बताएका छन् । अहिलेको निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने उहाँको भनाई थियो । जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सांसद प्रदीप यादवलगायतले सम्बोधन गरे ।

प्रतिक्रिया