सत्ता गठबन्धनबीच चुनावी तालमेलबारे भद्र सहमति, एमालेलाई हराउने रणनीति

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेलको सूत्रबारे भद्र सहमति बनिसकेको बुझिएको छ । गठबन्धनका शीर्ष नेताहरुले तालमेलबारे भद्र सहमति बनाएर तयारी समेत थालिसकेका छन् ।
स्रोतका अनुसार गठबन्धनभित्र स्थानीय, प्रदेश र प्रतिनिधि सभामा समेत तालमेलको भद्र सहमति बनेको हो । अहिलेलाई आ- आफ्नो शक्ति बढाउन सक्रिय हुने र चुनावमा एकैपटक तालमेललाई व्यवहारमा उतार्ने गरी रणनीति बनाएका छन् । भद्र सहमति अनुसार स्थानीय निकायको निर्वाचनमा यसअघि जुन दलले जित हासिल गरेको हो त्यहाँ त्यही दललाई प्राथमिकतामा राखेर साझा उम्मेदवार बनाउने सूत्र तयार गरिएको छ ।
महानगरपालिकाहरुमा कांग्रेसले यसअघि मेयर जितेको स्थानमा काँग्रेसको उम्मेदवारलाई गठबन्धनका अन्य दलले सघाउने विषय छ । माओवादीले जितेकोमा माओवादीले र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पालिका प्रमुखहरुको ठाउँमा उक्त दलकै उम्मेदवारलाई गठबन्धनबाट साझा उम्मेदवार बनाइने भएको छ ।
पालिकाको उपप्रमुख देखि वडाध्यक्षलगायतमा पनि मापदण्ड बनाएर सहमति बनाउने गरी तयारी भएको बुझिएको छ । गठबन्धनका दलबाहेकले जितेको पालिकाहरुमा भने गठबन्धनको दलको उक्त पालिकामा शक्तिको अवस्था हेरेर नेताहरुले मापदण्ड बनाउने तयारी गरेका छन् । यता चितवन महानगरमा भने कांग्रेसले दाबी गर्न सक्ने पनि बुझिएको छ । कांग्रेसको प्रभाव रहेको क्षेत्र भएको हुनाले प्रतिनिधिसभा पनि माओवादी र महानर पनि माओवादीलाई नछोड्ने समेत स्रोतको दाबी छ ।
प्रतिनिधिसभा र प्रदेश क्षेत्रमा हाल जुन दलको सांसद छन् सोही दलको सिट सुरक्षित हुने गरी मापदण्ड बनाउने सहमति समेत बनेको छ । यसमा केही परिमार्जन समेत हुनसक्ने बुझिएको छ । प्रत्यक्षतर्फ माओवादीले कांग्रेसले भन्दा बढी सिट जितेको छ । तर, सिट मिलाउँदा गठबन्धनबाहेकको दलले जितेको स्थानमा कांग्रेसले बढी सिट पाउने गरी तालमेल मिलाउने गरी तयारी भएको छ । माधव नेपालले भने एमालेले जितेको महानगरमा समाजवादीको दाबी रह्ने बताउँदै आएका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन साथ दिने नेकपा एसका १२ जनालाई प्रत्यक्ष निर्वाचित सांसदहरुको साथ थियो । सोमप्रसाद पाण्डेयसहित १३ जना पुग्छन् । उनीहरुको गठबन्धनमा टिकट सुनिश्चित हुने बुझिएको छ । नेकपा एसले थप केही प्रत्यक्षतर्फको सिट समेत पाउने बुझिएको छ ।
जनता समाजवादी पार्टीले ११ सिट प्रत्यक्षतर्फ जितेकोमा सोही क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारका रुपमा उक्त दलको उम्मेदवार अगाडि बढ्ने भद्र सहमति बनेको छ । जसपाले थप केही सिट पनि पाउनसक्ने बुझिएको छ ।
प्रत्यक्षतर्फ १६५ सिटमध्ये २०७४ मा माओवादीले ३६ सिटमा जित हासिल गरेको थियो । ४ सांसद नेकपा एमालेमा प्रवेश गरेपछि उनीहरुको पद नै खारेज भएको थियो । माओवादीका ३२ सांसद रहेका छन् । माओावदीले यसअघि चुनाव जितेको क्षेत्रमा गठबन्धनका अन्य दलबाट साथ पाउने गरी तयारी बढेको बुझिएको छ ।
कांग्रेसले २०७४ को चुनावमा २३ सिटमा प्रत्यक्ष निर्वाचन जितेको थियो । उसले समानुपातिकतर्फ बढी सिट जितेको थियो ।प्रत्यक्षतर्फ कांग्रेसको २३, माओवादीको ३२, नेकपा एसको १३, जसपाको ११ र जनमोर्चाको १ गरी ८० सिट पुग्छ । बाँकी ८५ सिटमा एमाले, लोसपा, राप्रपा, नेमकिपा र स्वतन्त्रले जितेका थिए । ती सिटहरुमा कांग्रेसले सबैभन्दा बढी पाउने गरी सहमतिको प्रयास बढाइएको विश्वस्त स्रोतले बताएको छ ।

प्रतिक्रिया