बुधबार, जेठ १, २०८२

हतियारका ठूला खरिदकर्ता !

नेपालखोज २०७८ चैत ८ गते २०:३९

काठमाडौं । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को वार्षिक रिपोर्टअनुसार बितेका पाँच वर्षमा सबैभन्दा बढी हतियार भारत तथा साउदी अरबले खरिद गरेको छ ।

सिप्रीको रिपोर्टअनुसार भारत र साउदी अरबले २०१६ देखि २०२० को बीच कुल बिक्री भएको हतियारको ११-११ प्रतिशत भाग खरिद गरे । यद्यपि २०१२-१६ को तुलनामा भारतको हतियार आयात २१ प्रतिशतले घटेको छ । २०१२-१६ को तुलनामा बितेका पाँच वर्षमा साउदी अरबको हतियार आयात २७ प्रतिशतले बढेको छ ।

सिप्रीको हतियार आयातकर्ताको सूचीमा मिश्र दोस्रो नम्बरमा छ जसले कुल हतियार आयातको ५.७ प्रतिशत भाग ओगटेको छ । बितेका पाँच वर्षमा मिश्रले २०१२-१६ को तुलनामा ७३ प्रतिशत बढी हतियार खरिद गरेको थियो ।

हालै अमेरिका तथा ब्रिटेनसँग पनडुब्बी खरिद सम्झौता गरेको अस्ट्रेलियाले कुल हतियार बिक्रीको ५.४ प्रतिशत हतियार खरिद गरेको छ । यस हिसाबले अस्ट्रेलिया संसारको तेस्रो ठूलो हतियार खरिदकर्ता हो ।

सिप्रीको रिपोर्टअनुसार चीनले अहिले हतियार निर्माणमा ठूलो प्रगति गरिसकेको छ । तैपनि चीनले कुल हतियार बिक्रीको ४.८ प्रतिशत भाग खरिद गरेको छ । चीन नै एकमात्र यस्तो देश हो जो हतियार खरिद गर्ने मात्र होइन बेच्ने मुलुकमा पनि पाँचौं नम्बरमा छ ।

बितेका पाँच वर्षमा म्यान्मारको हतियार खरिदमा ३२ प्रतिशतले कमी आएको छ । म्यान्मारले कुल हतियार खरिदको ०.६ प्रतिशत भाग ओगटेको छ ।

२०१२-१६ को तुलनामा इजरायलले बितेका पाँच वर्षमा १९ प्रतिशत बढी हतियार खरिद गरेको छ । चीनसँग तनावमा रहेको ताइवानको हतियार आयात बितेका पाँच वर्षमा ६८ प्रतिशतले घटेको छ । यद्यपि आउने वर्षहरुमा ताइवानको हतियार खरिदमा ठूलो वृद्धि हुने सम्भावना छ ।
-एएफपी तथा रोयटर्सको सहयोगमा

प्रतिक्रिया