शुक्रबार, जेठ ४, २०८१

बालबालिकाको विकासमा खेलको भूमिका

नेपालखोज २०७८ चैत ८ गते ८:५६

बालबालिकाको सिकाइका लागि खेल सबैभन्दा प्रभावकारी विधि हो । खेल खेल्नु शिशु/बालबालिकाको मन पर्ने क्रियाकलाप र मुख्य काम हो । खेल बिना उनीहरूको वृद्धि र सर्वाङ्गीन विकास आशा गर्न सकिदैन । खेल्न र मनोरञ्जन गर्न पाउनु बालबालिकाको अधिकार पनि हो । सबै बालबालिकाले खेल्न पाउनुपर्छ ।

खेलको माध्यमबाट बालबालिकाको भाषा, सञ्चार, कल्पना र सोचाइ; शारीरिक सन्तुलन, समन्वय र सक्रियता; समस्या समाधान र निर्णय गर्ने; स्वःप्रोत्साहन, स्वःअनुशासन, स्वःव्यवस्थापन; सिकाइ अनुभव र आत्मविश्वास बढ्ने, समय व्यवस्थापन, जिम्मेवारीवहन, सफलता र असफतामा समायोजन जस्ता सीपको विकास हुन्छ ।

उमेरअनुसारको खेल क्रियाकलाप एकदेखि दुई वर्षका शिशुसँग गरिने खेल क्रियाकलाप :

• नरम बल फाल्ने र समाउन लगाउनुपर्छ ।

• तोकिएको सामान लिएर आफूतिर बोलाउनुपर्छ ।

• ब्लक (काठका टुक्रा), डब्बा आदि एक माथि अर्को राख्न लगाउनुपर्छ ।

• आफूसँग भर्‍याङ, खुड्किला चढ्न र तल झर्न सहयोग गर्नुपर्छ ।

• चित्रकथाका किताब हेर्न, चित्र चिन्न, सँगसँगै कथा भन्ने र कुराकानी गर्नुपर्छ ।

• हिँड्न र दगुर्न साथ दिनुपर्छ ।

दुईदेखि तीन वर्षका बालबालिकासँग खेल क्रियाकलाप:

• रङ्गीन कलमले कागजमा केरकार गर्न लगाउनुपर्छ ।

• चित्र कथाका किताब हेर्न, चित्र चिन्न, सँगसँगै कथा भन्ने र कुराकानी गर्नुपर्छ ।

• चित्रमा भएका वस्तु जीव, मान्छेहरूका नाम भन्ने र उनीहरूलाई चिन्न लगाउनुपर्छ ।

• विभिन्न वस्तु छुन, जान्न र हेर्न लगाउनुपर्छ ।

• बनाउन वा बिगार्न मिल्ने खेलौनासँग खेल्न दिनुपर्छ ।

• तीन शब्दसम्मको वाक्य बोल्न सिकाउनुपर्छ ।

• लामो–छोटो, ठूलो–सानो चिनाउनुपर्छ ।

• सानो–तिनो कामको जिम्मेवारी वहन गर्न सिकाउनुपर्छ ।

चारदेखि पाँच वर्ष उमेरका बालबालिकासँग खेल क्रियाकलाप:

• चार वर्षको उमेरमा बालबालिका २ वा ३ जनाको सानो समूहमा खेल्न थाल्दछन् । बालबालिकाह आफैँ वा कहिलेकाहीँ जोडीमा खेल खेल्ने गर्छन् ।

• यस उमेरका बालबालिकाले घरेलु क्रियाकलाप खेलको माध्यमबाट सघाउन थाल्छन् र सिकाइ अनुभव गर्छन् ।

उनीहरूले गर्न सक्ने क्रियाकलापमा संलग्न गराउनुपर्छ ।

• खेलौना र सिकाइ सामग्रीको प्रयोग गरी खेलाउनाले उनीहरूको भाषा, गणित, विज्ञान, नैतिक ज्ञान र सिर्जना/कलाको ज्ञान र सीप विकास हुन्छ ।
स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया