गैरआवासीय नेपाली संघमा सहमति, चैत १० र ११ मा एकता महाधिवेशन

नेपालखोज २०७८ चैत ८ गते १२:०२

काठमाडौं । गैरआवासीय नेपाली संघमा सहमति भएपछि चैत ११ र १२ गते काठमाडौंमा एकता महाधिवेशन हुने भएको छ ।

अध्यक्ष पदका तीन उम्मेद्‌वार कुल आचार्य, बद्री केसी र रविना थापाबीच सहमति भएपछि एनआरएन विभाजन हुनबाट रोकिएको छ ।

अध्यक्ष पदका तीनैजना प्रत्यासीले आज संघको सचिवालयमा पत्रकार सम्मेलन गरी एकता महाधिवेशनका लागि आफूहरूबीच सहमति भएको बताए ।

यसअघि देखिएका सबै विवाद समाधान गरी संघलाई एकजुट बनाएर लैजान आफूहरूबीच सहमति भएको उनीहरूको भनाइ छ ।

अध्यक्ष कुमार पन्तले संस्थाको हितका लागि सबैले आ-आफ्नो कमजोरी स्वीकार गरेको बताए । पछिल्लो सहमतिले संस्थालाई एकजुट बनाएको उनको भनाइ छ।

अध्यक्षका उम्मेदवार एवं संघका सल्लाहकार कुल आचार्यले संसारभरका नेपालीहरूलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताए । पदभन्दा पनि पद्धतिका लागि एकजुट हुनुपरेको उनको भनाइ थियो । संस्थालाई एकजुट बनाएर अगाडि अहिलेको आवश्यकता रहेको उनले औंल्याए । अध्यक्षका उम्मेदवारद्वय केसी र थापाले पनि संस्था जोगाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

सहमतिअनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न अध्यक्ष पन्तले आग्रह गर्नेछन् भने उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि पन्तले फिर्ता लिनेछन् । त्यसैगरी असन्तुष्ट पक्षका तर्फबाट दायर मुद्दा पनि फिर्ता हुने पन्तले जानकारी दिए ।

प्रतिक्रिया