प्रचण्डले प्रधानमन्त्रीलाई भने- छुटेका घाइतेलाई सूचीकृत गराैं अनि भत्ता दिउँ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गरेका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डले माओवादी जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यन्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । युद्धका घाइते तथा अपांग योद्दाहरुको सन्दर्भमा बुँदागत रुपमा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव समेत रहेका माओवादी नेता रमेश मल्लले जानकारी दिएका छन् ।
सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिको अपांगता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपांगता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्ने लगायतका विषय छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा सशस्त्र द्वन्द्वमा घाइते अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि-२०७४ लाई संशोधन गर्नुपर्ने, विभिन्न आन्दोलनका घाइतेलाई जीवन निर्वाह भत्ताको व्यवस्थालगायत रहेका छन् ।
यस्ता छन् पाँच बुँदा :
१.सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
२. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
३. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,
४. जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने,
५.सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने आदि ।

प्रतिक्रिया