केपी ओलीको इनर्जी देखेर अचम्ममा परे : करिश्मा मानन्धर

काठमाडौं । नेकपा एमालेमा अभिनेत्री करिश्मा मानन्धर प्रवेश गरेकी छन् । आज एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका थिए ।
उनले कार्यक्रममा अध्यक्ष ओलीका कारणमात्र एमाले रोजेको स्पष्ट पारिन् । कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको उनले बताइन् । उनले भनिन्, ‘मैले नेकपा एमालेमार्फत राजनीतिमा अघि बढ्ने अठोट गरेको छु । यसका तीनवटा कारण छन् । पहिलो कारण भनेको अध्यक्ष ओली हुनुहुन्छ । यो मैले उहाँलाई फुर्काउन भनेको होइन ।’

अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् । देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।
एमाले पार्टीमा प्रवेश गर्दै उनले यस क्षेत्रमा आफूले राम्रै पहिचान पाएको बताउँदै यही पहिचान सबैथोक होइन, यसको बारेमा आफ्नो मनमा प्रश्न उठेको बताइन् । यो समाज र देशको महिलाका लागि केही गर्नुपर्छ जस्तो लागेर यस क्षेत्रमा लागेको उनले बताइन् ।

देशको थुप्रै ठाउँमा आफू पुग्दा अध्यक्ष अोलीको प्रशंसा गरेकै हुन्छन् भन्दै अभिनेत्री मानन्धरले देशको परिवर्तनका लागि एमाले पार्टी टुल रहेको धारणा राखिन् । उनले भनिन्, ‘सबैको मनमा नेकपा एमाले नै किन भनि प्रश्न आउनसक्छ । अध्यक्ष केपी शर्मा ओली पथप्रदर्शक हुनुहुन्छ, उहाँमा देखेको इनर्जी देखेर अचम्ममा परेको छु ।’
दोस्रो कारण प्रस्तुत गर्दै करिश्माले एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको बताइन् । एमाले प्रतिपक्षमा रहे पनि देशको पहिलो पार्टी भएको उनको भनाइ थियो । करिश्माले आफू कुनै पदको लोभमा एमाले नआएको बताइन् । यद्यपि, पार्टीले विश्वास गरेर जिम्मेवारी दिएमा स्वीकार्ने उनको भनाइ छ ।

प्रतिक्रिया