सोमबार, वैशाख १७, २०८१

पलमाथि १४ वर्ष कैद सजायको माग दाबी, अब यसरी अगाडि बढ्छ मुद्दा

नेपालखोज २०७८ चैत ८ गते १५:३०

काठमाडाैं । नाबालिग बलात्कारको अभियोगमा हिरासतमा रहेका नायक पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।

नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्‍याइएको हो । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अदालतमा अभियोग पत्र दर्ता गरिएको पुष्टि गरे । अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोग पत्रमा गरिएको छ ।

तनहुँको अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाए पूर्वी नवलपरासी अदालतमा उनको बयान मात्र हुने र फैसलाको प्रक्रिया अगाडि बढ्न सक्ने छ । पूर्वी नवलपरासी जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोग दर्ता गरेको छ ।

जोशीले बालिका बलात्कार प्रकरणमा मतियारको भूमिका खेलेको भन्दै उनलाई पलमाथि हुने सजायको आधा सजाय मागदाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका अनुसार अभिनेता पलमाथि जबरजस्ती करणीको कसुर स्थापित हुने यथेष्ट आधार र प्रमाण पेश गरिएको छ । साक्षीको बयान, घटना विवरण कागज, वारदातस्थलमा रहेको पुष्टि हुने प्रमाण, अभियुक्त र आरोपीबीचको संवादको कल डिटेल्स आदिलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको छ । अभिनेता पल शाहले भने हालसम्म पनि पीडित बालिकासँग प्रेम वा यौन सम्बन्ध केही नरहेको भन्दै जबरजस्ती करणीको अभियोग झुट्टा रहेको बयान दिँदै आएका छन् ।

गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा अभिनेता पल शाहविरुद्ध ​उजुरी दर्ता भएको थियो । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको थियो । त्यसपछि शाह फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका थिए ।
शाहविरुद्ध यसअघि पूर्वी नवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ । पीडित भनिएकी नाबालिगले दुवै जिल्लामा शाहविरुद्ध जाहेरी दिएकी थिइन् । तनहुँ जिल्ला अदालतमा थुनछेकको बहसपछि मात्र शाहको पूर्वी नवलपरासीको मुद्धाको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।

तनहुँ अदालतमा अभियोग पत्र दर्ता भएपछि आरोपी शाहको त्यहाँ बयान हुने छ । त्यसपछि थुनछेकको बहस सकेर न्यायाधिशले पुर्पक्षका लागि थुनामा पठाउने तथा धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश गर्नेछन् । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

प्रतिक्रिया