शनिबार, असार २१, २०८२

सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व हामीसँग छ : केपी ओली

नेपालखोज २०७८ चैत ९ गते १२:५६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् । बुधबार सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए ।

अहिले लोकतन्त्र र प्राप्त उपलब्धी रक्षा गर्नुपर्ने खास परिस्थिति रहेको अध्यक्ष ओलीले बताए । ओलीले भने, ‘सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व हामीसँग छ । त्यो सबै गर्न चुनाव जित्नुपर्छ । हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन ।’

उनले एमालेलाई कम्युनिस्ट पार्टी मध्येको ठुलो एमाले भन्नेजस्ता शब्दावली भुल बस, नियतबस प्रयोग हुने गरेको पनि बताए । उनले राष्ट्रलाई अघि बढाउने नीति, जननिर्वाचित प्रतिनिधि र व्यवहारिक प्रश्नमा पनि एमाले नै मुलुकको प्रमुख पार्टी भएको बताए । साथै उनले आगामी निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा उत्साहका साथ जनतामा गएर पार्टीको इतिहासलाई थप मजबुत पार्ने बताए ।

उनले एमालेसँगै सवैभन्दा पुरानो पार्टी प्रजापरिषद समेत रहेको अवस्थामा मूलधारको पार्टी एमाले भन्न अप्ठारो नमान्न आग्रह गरे । उनले भने, ‘१९९१ सालमा स्थापना भएको प्रजापरिषद पनि एमालेसँगै छ । कम्युनिस्ट आन्दोलनको इतिहासले पनि नेकपा एमाले ठुलो र मूलधारको पार्टी भन्न अप्ठेरो मान्नुपर्ने छैन ।’

अध्यक्ष ओलीले निर्वाचन केन्द्रीत मोवाइल एप बनाएर निर्वाचनको प्रचार प्रसार प्रभावकारी बनाउने पार्टीको तयारी रहेको बताए । गत महाधिवेशनमा ८ लाख ५५ हजार संगठित सदस्य रहेको एमालेमा अहिले ११ लाख पुगेको उनले जानकारी दिए । उनले भने, ‘जनआकर्षण बढ्दो छ, पार्टी प्रवेशको लहर चलेको छ । प्रचारलाई व्यवस्थित र सबैलाई एमालेको नीतिबारे जानकारी दिन मोबाइल एप प्रभावकारी बनाइनेछ ।’

अध्यक्ष ओलीले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनावमा जित्नु पर्ने बताए ।

प्रतिक्रिया