शनिबार, जेठ ५, २०८१

ज्याला मजदुरी गर्नेमा लागूऔषध समस्या बढ्दो

नेपालखोज २०८० पुष २८ गते १३:३१

धरान । धरानमा ज्याला मजदुरी गर्ने वर्गमा लागूऔषधको समस्या बढिरहेको पाइएको छ । अघिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क तुलना गर्दा यसरी लागूऔषधको प्रयोग र कारोबारका संलग्नहरुमा ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

त्यसैगरी, बेरोजगार युवा र विद्यार्थीको सङ्ख्या पनि बढिरहेको पाइएको छ । आव २०७७र७८ मा लागूऔषध मुद्दामा ज्याला मजदुरी गर्ने २० जना पक्राउ परेकामा आव २०७८र७९ मा ३६ र आव २०७९र८० मा अझै बढे ३९ जना पक्राउ परेका थिए । त्यस्तै, बेरोजगार युवामा आव २०७७र७८ मा पाँचजना र आव २०७८र७९ मा दुईजना पक्राउ परेकामा आव २०७९८० मा २२ जना पक्राउ परेका थिए ।

लागूऔषधको मुद्दामा पक्राउ पर्नेमा विद्यार्थीको सङ्ख्या पनि बढ्दो मात्रामा देखिएको छ । अघिल्ला दुई आर्थिक वर्षमा दुईरदुईजना विद्यार्थी पक्राउ परेकामा आव २०७९र८० मा सातजना पक्राउ परेका छन् । त्यस्तै, उमेरको आधारमा २६ देखि ३५ वर्ष उमेर समूहका सबैभन्दा बढी छन् ।

प्रहरीले यो उमेर समूहकालाई अघिल्ला दुई आर्थिक वर्षमा ३२ र नौजना पक्राउ गरेकामा आव २०७९र८० मा ४६ जना पक्राउ गरेको थियो । दोस्रोमा ८ देखि २५ वर्षसम्मका युवाको सङ्ख्या धेरै छ । १७ वर्षभन्दा कम उमेरका पक्राउ पर्नेको सङ्ख्या भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ जना पक्राउ परेकामा आव २०७९र८० मा एकजना मात्र पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालयका अनुसार २०७९ साल चैत १ देखि २०८० मङ्सिर महिनासम्ममा लागूऔषधका ५० मुद्दा दर्ता भएका छन् जसमा ७० पुरुष र एकजना महिना पक्राउ परेका छन् । चालु आव २०८०र८१ को हालसम्म २५ वटा मुद्दामा ३९ जना पक्राउ परेका छन् ।

आव २०७९र८० मा लागूऔषधका ६५ मुद्दा दर्ता भएकामा ९२ पुरुष र दुईजना महिला पक्राउ परेका थिए । आव २०७८र८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए भने आव २०७७र७८ मा ५७ मुद्दा दर्ता भएर ७९ पुरुष र चारजना महिला पक्राउ परेका थिए ।

लागूऔषधका कारोबारीहरुले सवारी साधनमा लुकाएर, फल्स बटन बनाएर, शरीरका विभिन्न भागमा लुकाएर लागूऔषध सेवन र बिक्री वितरण गरिरहेको पाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमराज राईले जानकारी दिए । उनका अनुसार धरानमा अवैध रुपमा प्रतिबन्धित औषधिहरुको प्रयोग बढिरहेको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले हरेक शुक्रबार लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन् । उनी घर र विद्यालय तहबाटै सचेतना फैलाउन आवश्यक भएको ठान्छन् ।

प्रतिक्रिया