को बन्ला काठमाडौंको मेयर ?

काठमाडौं । स्थानीय निकायको निर्वाचन नजिकिएसँगै अहिले त्यहाँको आन्तरिक राजनिति पनि तात्न थालेको छ । विभिन्न दलहरुले उम्मेदवार छनोटका लागि आवश्यक प्रक्रिया सुरु गरे सँगै पार्टीहरुभित्रको आन्तरिक दौडधुपले गति लिएको देखिन्छ ।
यस क्रममा देशको संघीय राजधानी तथा सबैभन्दा ठूलो सहर काठमाडौंको मेयरको उम्मेद्वारहरुको चर्चा अहिले अग्रपंक्तिमा छ । रोचक कुरा के छ भने यस पटकको निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाईसमेत मेयरको उम्मेद्वार हुने सुझाव आएको छ । सामाजिक सन्जालमा दिइएका यस्ता सुझावमा सुझावकर्ताले पद ठूलो-सानो नहुने र महानगर काम गरेर देखाउने ठाउँ भएकाले उनीहरुलाई उम्मेद्वारी दिन सुझाएको बताएका छन् । यद्यपि यो सुझाव वीरबलको खिचडी जस्तो मात्र देखिन्छ र यसको सम्भावना निकै क्षीण छ ।
यसक्रममा एमालेका तर्फबाट अहिले वर्तमान मेयर विद्यासुन्दर शाक्य स्वभावत: उम्मेद्वारको आकांक्षी देखिन्छन् । उता पूर्वमेयर केशव स्थापितलाई पुन: एकपटक मेयरमा उठन आग्रह गर्नेहरु पनि कम छैनन् । भनिन्छ पार्टीले टिकट दिए स्थापितले त्यसलाई सहर्ष स्वीकार गर्नेछन् ।
यता नेपाली कांग्रेसमा समेत नगर प्रमुखको छनोटलाई लिएर सरगर्मी सुरु भएको छ । कांग्रेसमा पुराना नेता तीर्थराम डंगोल, भीमसेनदाश प्रधान आदिको समेत नाम मेयरको उम्मेद्वारका रुपमा उछालिएको छ । यद्यपि यो उनीहरुको इच्छाभन्दा वरिष्ठताका कारण भएको चर्चाजस्तो बुझिन्छ । तैपनि सिनियरलाई उठाउनुपर्ने परिस्थिति खडा भएको अवस्थामा यी निर्विकल्प नाम हुन् ।
यसैगरी वर्तमान उपमेयर हरि प्रभा खड्गी स्वभाविक रुपमा मेयरको आकांक्षी देखिएकी छन् भने कांग्रेस नगर सभापति एवं २५ नम्बर वडाका अध्यक्ष नीलकाजी शाक्य पनि पदीय हिसाबले नै मेयरको दाबेदार देखिन्छन् । एमालेका विद्यासुन्दर तथा रामवीर मानन्धरहरु वडाध्यक्ष हुँदै उनीहरुसँगै कांग्रेसका तर्फबाट वडाध्यक्ष भएका हरिश्चन्द्र श्रेष्ठ पनि टुकुचापूर्व लोकप्रिय मानिन्छन् । कांग्रेसभित्र उनी पनि बलियो उम्मेद्वारका रुपमा चर्चामा छन् ।
यसैगरी मेयरका पूर्व उम्मेद्वार राजुराज जोशी कांग्रेसका अर्का सम्भावित उम्मेद्वार हुन् । आकांक्षीहरु थुप्रै भए पनि कांग्रेसमा यिनैमध्ये कसैले टिकट पाउने बलियो सम्भावना छ । यद्यपि यसमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा कांग्रेस नेता प्रकाशमान सिंहको भूमिका निर्णायक रहनेछ ।
प्रतिक्रिया