बिहीबार, जेठ १२, २०७९

डम्बरकुमारी अर्थात् नेपालको पहिलो फेसन डिजाइनर !

सुनील उलक २०७९ वैशाख २४ गते १२:२३

फेसन मानवीय जीवनको एक अभिन्न अंग भइसकेको छ । हामीले चाहेर वा नचाहेर यसलाई पछ्याइरहेका हुन्छौं । फेसनको दौडमा हामी बिस्तारै हिँडेका हौंला वा धेरै पछाडि हौंला तर यात्रामा हामी पनि सामेल भएका नै हुन्छौं ।

फेसन भन्नाले चलिआएको पहिरनभन्दा केही भिन्न हुनु नै फेसन हो । नेपालमा फेसनको दौर कहिलेदेखि सुरु भयो होला भन्ने हामीमध्ये धेरैले अनुमान गर्न सक्दैनौं । बाह्रेहाते घरबुना हाकुपटासी वा छिपापटासी लगाउने काठमाडौंका महिलाहरुले बिस्तारै अरु कपडा पनि लगाउन थालेका थिए । पुटु लँ बिस्तारै ब्लाउज भयो । उहिले केटाकेटीहरुले लगाउने ह्वान्ताङ सुरुवा: अहिले फेरि फेसन भएको छ ।

आखिर आधुनिक पहिरनको सुरुवात कहिले र कसले गरेका थिए भन्ने विषयमा गहिरो खोज गर्दै छु । अहिलेसम्म भेटिएको प्रमाणका आधारमा भारतमा हातबाट ब्लक प्रिन्ट गरेर कपडा बनाउने कला सिकेर आएकी डम्बरकुमारी नै नेपालमा पहिलो फेसन डिजाइनर भएको अनुमान गर्न सकिन्छ । जंगबहादुरकी छोरी विष्णु दिव्येश्वरी देवीको विवाह वनारसका महाराजा प्रभुनारायण सिंहसँग भएको थियो । यिनै दिदीको घर वनारसमा डम्बरकुमारी बस्न गएकी थिइन् । विष्णु दिव्येश्वरी जंगकी प्यारी बडामहारानी हीरण्यगर्भकुमारीतर्फकी कान्छी तथा जंगकी पाँचौं छोरी थिइन् भने डम्बरकुमारी मीना महारानीबाट जन्मेकी जेठी तर जंगको बाह्रौं छोरी थिइन् । वनारस दरबारमा रहेकी डम्बरकुमारीले नयाँ काम सिकेकी थिइन् । काठको ब्लकबाट कपडामा बुट्टा बनाउने कला सिकेकी थिइन् ।

यिनले यो कला नेपालमा भित्र्याइन् । नेपाल फर्केपछि उनैले बाबु जंगबहादुरलाई पहिराइ दिएको टोपीको सुधारिएको रुप नै आजको प्रचलित ढाका टोपीको रुप हो । उनले ब्लक प्रिन्ट गरेको कपडामा नेपालको चिसो मौसमलाई सुहाउँदो गरी मलमलको खोल चढाइन् जसले गर्दा यहाँको जाडो थेग्न सक्ने पनि भयो ।

नेपाल आउनुअगाडि उनीबारे गलत अफवाह फैलाइएको थियो । जसले गर्दा जंगले वास्तविकता बुझ्न विशेष दूत नै वनारस पठाएका थिए । तर सो अफवाह झुटो भएको प्रमाणित भयो । उनले ब्लक प्रिन्ट गरी बनाएको नयाँ खास्टोको नाम नै डम्बरकुमारी खास्टो रह्यो । जुन अध्यावधि पाइन्छ र यही नामले बिक्री हुने गर्दछ ।

No description available.

डम्बरकुमारी खास्टोसँग अर्को रोचक प्रसंग पनि छ । सहिद दशरथचन्दको प्रेमकथामा डम्बरकुमारी खास्टो पनि गाँसिएको छ । सहिद दशरथ चन्दका हरेक तस्बिरमा खास्टो ‌ओढेको देख्न सक्छौं । यो खास्टो डम्बरकुमारी खास्टो हो । शोभा भगवतीमा गोली हानिने बेलामा पनि यही खास्टो ओढेका थिए । यो खास्टो उनको प्रेमिका जुलिया मैयाँ साहेबले प्रेमको उपहार स्वरुप दिएकी थिइन् । तत्कालीन समयमा कमान्डर इन चिफ रहेका रुद्रशमशेर राणाको छोरी जुलिया मैया साहेबसँग पारिवारिक जुठो परेका कारण निर्धारित विवाहको मिति सरेको थियो । पछि रुद्रशमशेर सर्वस्वहरणसहित पाल्पा निष्कासन भएपछि जुलिया पनि पाल्पा पुगिन् । उतै जुलियाको क्षयरोगका कारण निधन भयो । जुलियाको यादमा दशरथ चन्दले अर्को विवाह पनि गरेनन् र जुलिया मैयाले दिएको खास्टो पनि कहिल्यै छोडेनन् ।

राणाकालमा प्रचलित विभिन्न फेसनको गहिरो अध्ययन गर्दै छु । त्यो बेलाका २०० भन्दा बढी भिक्टोरियन फेसनका प्रभाव रहेका तस्बिरहरु नियालिरहेको छु । १०० वर्षअगाडि राणा तथा उच्च वर्गमा देखिने फेसन युरोपका घरानियाँहरुसरहका थिए । त्यस समय नेपालका फेसनको विषयमा कसैसँग केही विशेष जानकारी भएमा उपलब्ध गराउनुभएमा कृतज्ञ हुने थिएँ ।

यहाँ राखिएको तस्बिरमा सेतो घेराभित्र देखिएको डम्बरकुमारी हुन् । यो तस्बिर श्री ३ जंगबहादुरको पारिवारिक तस्बिर हो । यो तस्बिर जंगबहादुरकी छोरी ललितराज्यश्वरी राज्यलक्ष्मीको युवराज त्रैलोक्य वीरविक्रमसँग विवाहको समयमा खिचिएको हो । दायाँतर्फ दुलहीको पहिरनमा घोप्टिएकी ललितराज्यश्वरी हुन भने बायाँतर्फ तारा राज्यलक्ष्मी हुन् । दुवै छोरीको विवाह युवराज त्रैलोक्यसँग भएको थियो । तर दु:खको कुरा युवराज त्रैलोक्यको राजा हुनुअगाडि नै निधन भएको थियो । बीचमा जंगको साथ बडामहारानी हीरण्यगर्भकुमारी (मैया महारानी) बसेको देख्न सकिन्छ । तस्बिरको पछाडि उभिएकाहरुमा जंगबहादुरका अन्य छोरीहरु हुन् ।

प्रतिक्रिया