आइतबार, जेठ ६, २०८१

धितोपत्र दलाल व्यवसायी मल्ल एन्ड मल्ललाई सेबोनको कारबाही

नेपालखोज २०७८ चैत ९ गते १४:२३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई कारवाही गरेको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खन्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम सो कम्पनीलाई कारवाही स्वरुप ७५ हजार रुपैयाँ जरिवाना तिराइएको बोर्डले जानकारी दिएको छ ।

धितोपत्र काराबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१) को ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसँग कारोबार सम्झौता गर्नु पर्नेछ ।

व्यवस्था र सोही विनियमको उपविनियम (२)को उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा काराबार सदस्य र लगानीकर्ता बीचमा लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने व्यवस्था विपरित सम्झौता नगरी आफु खुसी १३ प्रतिशत देखि १८ प्रतिशतसम्म व्याज असुल उपर गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया