चेक चोरको आरोप लागेका एसएसपी सिंहलाई कारबाही गर्न सिफारिस

काठमाडाैं । प्रहरी प्रधान कार्यालयले डीआईजी राजेशकुमार लाल कर्णको संयोजकत्वमा गठन गरेको छानबिन समितिले एसएसपी अशोक सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । उनले चेक चोरेको भनेर उजुरी परेको थियो ।
अपराध अनुसन्धान विभागका डीआईजी राजेश कुमारलाल कर्ण नेतृत्वको समितिले छानविन पुरा गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ । २०७८ पुस १३ मा गठन भएको समितिले प्रतिवेदन बुझाउँदै एसएसपी सिंहले आचरण विपरित त्रुटिपूर्ण काम गरेको ठहर गरेको छ । असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित एक घरमा घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए । त्यहाँ आफूलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै राजकुमारले उजुरी गरे ।
असोज २५ मा काठमाडौं प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाखको बैंक अफ काठमाडौंको चेक बरामद गरेको थियो । चेक जुवा खालमा काटेको र जुवा खेलेको सीसीटीभी फुटेजमा देखिएपनि एसएसपी सिंहले करिब ३ महिना आफुसँगै राखेर सो चेक भेटवाललाई फिर्ता दिएका थिए । आफू काठमाडौं प्रहरी प्रमुख रहेका बेला सिंहले चोरेको आरोप लागेको २ करोड २९ लाख रूपैयाँ भरिएको चेक सम्बन्धित व्यक्तिबाट फिर्ता लिएपनि पछि तीनै व्यक्तीलाई फिर्ता गरेको समितिको निष्कर्ष रहेको छ ।
छानबिन समितिमा एसपी आभुषण तिम्सिना र डीएसपी सन्तोष तामाङ पनि सदस्य थिए । प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले सिंहमाथिको कारबाही प्रकृयामा रहेको जानकारी दिए । पुस २ मा काठमाडौं परिसरमा एसएसपी सुदिप गिरीलाई स्वागत गरेर हिँड्ने बेलामा सिंहले आरोपी भेटवाललाई बोलाएर चेक फिर्ता गरेका हुन् ।
प्रतिक्रिया