सोमबार, असार ९, २०८२

चेम्बरले तीनखम्बे कृषि नीतिअन्तर्गत सरकारसँग सहकार्य गर्ने

नेपालखोज २०७८ चैत ९ गते १९:३८

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्र्तगत सरकारसंग सहकार्य गर्ने भएको छ । बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारीमार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव गरेको हो ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवसंग चेम्बरले आत्मनिर्भर कृषिका लागि सहकार्य गर्न प्रस्ताव गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताए । कृषि प्रधान मुलुकमा वार्षिक ५० अर्व ५३ करोड रुपैयाँ बराबरको खाद्यन्ह आयत हुनु मुलुककै लागि दुर्भाग्य भएको मल्लले बताए ।

आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफुल, घिउ तेल, चिनी समेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरि व्यापार घाटा बढेको अध्यक्ष मल्ले बताए । कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिए पनि प्रभावकारी हुन नसकेको र सरकारसंग कृषि अनुदान लिएर जग्गाको कारोबार भईरहेको गुनासो बढेको अध्यक्ष मल्लको भनाई छ ।

३० प्रतिशत बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । चेम्बरले ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसंग सहकार्य मार्फत कृषि उत्पादन अभियान सुरु गरेको अध्यक्ष मल्लको भनाई छ ।

युवाहरुलाई व्यवसायिक खेती तर्फ आर्कषित गर्न चेम्बरले आवश्यक सवै समन्वय गर्ने समेत अध्यक्ष मल्लले बताए । कार्यक्रममा कृषि मन्त्री यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषक मैत्री वातावरण बनाउन सरकार लागि परेको पनि बताए । कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षाअनुसारको काम हुन नसकेको मन्त्री यादवले बताए । कृषिमा तीन खम्वे अर्थनीतिका लागि आफुले पहल गरिरहेको र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि मन्त्रालयमा काम भईरहेको मन्त्री यादवको भनाई छ ।

कृषकले उत्पादन गरेका बस्तुहरुको उत्पादन भण्डारणदेखि बजारीकरणसम्मको व्यवस्था सरकारले गर्नेगरी तयारी भईरहेको जानकारी दिए । मन्त्री यादवले पहिलो चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउने तयारी भईरहेको समेत बताए । इजरायलबाट फर्किएका युवाहरुले मन्त्री यादवसंग नेपालमा कृषि उत्पादनमा भोग्नु परेका समस्या सुनाएका थिए ।

उनिहरुले विदेशी प्रविधी तथा उन्नत जातको विउ भित्र्याएर नेपालमा कृषि प्रर्वद्धन गर्न खोजेपनि नीतिगत झण्झटका कारण समस्या भएको गुनासो गरे । कार्यक्रममा इजरायलका लागि पूर्वराजदूत डा अन्जान शाक्यले इजरायलको कृषि प्रविधीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया