बुधबार, जेठ १६, २०८१

तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुन्छ : पाण्डे

नेपालखोज २०७८ चैत ९ गते २०:२२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले स्पष्ट बहुमतसहित देशको नेतृत्व गर्न पनि जनताले कांग्रेस र नेकपालाई साथ दिएको स्मरण गराए । तर, दुवै सरकारले पूरा कार्यकाल सरकार सञ्चालन गर्न नसकेको उनको गुनासो थियो ।

उनले वर्तमान गठबन्धन समयले माग गरेको पनि दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन हुने नै दाबी गरेका छन् । प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन कायम हुने पाण्डेको दाबी छ ।

नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेका संसदीय दलका नेता डा. रणबहादुर रावलले अहिले पनि पाँच दलीय गठबन्धनको आवश्यकत्ता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए ।

यो गठबन्धन किन आवश्यक थियो ? भन्ने कुरा पनि सबैले बुझ्नु पर्ने उनको भनाई छ । उनले गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्ने पनि विश्वास दिलाए । यद्धपी उनले गठबन्धनमा पनि चूनौति रहेको उल्लेख गरे ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हिमाल शर्माले अहिले पनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रुपमा छलफल चलिरहेको उनको भनाई छ । नेता शर्माले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी गठबन्धन गर्नेबारे कोशिस भैरहेको सुनाए ।

उनले अहिले चुनावी गठबन्धनको लागि राम्रो वातावरण बन्दै गएको आफूले ठानेको पनि सुनाए । आवश्यक पर्यो भने आफ्नो पार्टीले चितवनको भरतपुर महानगरपालिका गठबन्धनको लागि छोड्न तयार रहेको पनि सुनाए ।

त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने बताएका छन् । स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रुपले गरिरहेको पनि सुवेदीले बताए । उनले चुनावमा तालमेलको कुरा गर्दा पाँच दलमात्रै नभएर अरु दलसँग पनि स्थानीय तहमा तालमेल गर्ने कुरालाई खुल्ला राखेको सुनाए ।

प्रतिक्रिया