बुधबार, जेठ १६, २०८१

परीक्षण शुल्कको नाममा अनावश्यक भन्दा बढी शुल्क असुलेको रक्तदाता समाजकाे आरोप

नेपालखोज २०७८ चैत ९ गते २१:३६

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले नेपाल रेडक्रस सोसाइटीका प्रमुख कार्यकारी अधिकृत उमेश ढकाललाई ज्ञापनपत्र बुझाएको छ ।

‘गुणस्तरको नाममा रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको व्यपार नगरौं’ भन्ने मूल नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको नेतृत्वमा आज नेपाल रेडक्रस सोसाइटीका प्रमुख कार्यकारी अधिकृत ढकाललाई ज्ञापनपत्र बुझाइएको हो।

तीन घण्टा लामो छलफल पछि अर्को वार्ता पछि शुल्क समायोजनमा सहमति जुटाएर मात्र अघि बढ्ने सहमति गर्दै पुरानै परिक्षण शुल्क हाललाई कार्यान्वयन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिइएको छ ।

गुणस्तरीय परीक्षण गरि निःशुल्क रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू वितरण गर्नु नै स्वयंसेवी रक्तदाताहरूले दानमार्फत प्रदान गरेको रगतको उच्च सम्मान र इज्जत प्रदान हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए ।

छलफल कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज १३ वडा नगर समितिका अध्यक्ष नीरू महर्जन, १९ वडा नगर समितिका अध्यक्ष विनोद खड्गी, २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित,२४ वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकार, २० वडा नगर समितिका सचिव राजेश मानन्धर, ३० वडा नगर समितिका सदस्य राधेश्याम मिश्र, सदस्य निशान थापा र सुबोध शाक्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया