‘क्षयरोग मुक्त नेपाल’ बनाउने सरकारको नीति

नेपालखोज २०७८ चैत १० गते ११:०१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गरिव, अल्पविकासित र विकासशील राष्ट्रका लागि क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याको रुपमा रहेको बताएका छन् ।

क्षयरोग दिवसको अवसरमा एक सन्देश जारी गर्दै खतिवडाले नेपाल सरकारले यस रोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाको माध्मबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

विश्व स्वास्थ्य संगठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्र संघको उच्चस्तरीय बैठकले त्यस रणनीतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकोमा नेपाल सरकारले समेत त्यसमा थप प्रतिवद्धता जनाई सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याइसकेको बताए ।

सरकारको ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई प्रभावकारी बनाइ प्रत्येक नागरिकको पहुँचमा पु¥याउन सबैले आ–आफ्नो ठाउँ तथा क्षमता अनुसार कार्य गर्न आवश्यक रहेको बताए ।

यस वर्ष विश्वभरी ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं” भन्ने नाराका साथ क्षयरोग दिवस मनाइँदैछ । यस सन्दर्भमा क्षयरोग निवारणका लागि नीति निर्मातादेखि बिरामी तथा यसको निवारणमा आ-आफ्नो समुदाय स्तरसम्म सबैले सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।

क्षयरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्यासमेत भएकाले यसलाई सम्बोधन गर्न सरकारी, निजी र गैह्रसरकारी निकायहरुसंगको समन्वय र सहकार्यबाट मात्र सम्भव हुने भएकोले सरकारले यसलाई प्राथमिकतामा राखी कार्यक्रम कार्यान्वयन गर्दै आएको मन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया