चोभारको सुक्खा बन्दरगाह चैतभित्रै सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ । असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो ।
आज संचारकर्मीसँग कुराकानी गर्दै इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन हुने बताए । समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उनले बताए ।
यस सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताए । भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उनले उल्लेख गरे ।
उनले सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाइ दिने र जिपिएस सिस्टम जडान गरेर पठाउने बताए । यसरी सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरु सुख्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुने उनले स्पष्ट पारे ।
बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारहरुको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सबै पूर्वाधारहरुको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहजरुपमा सञ्चालन हुने उनले बताए ।
इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालगञ्ज र रसुवाको टिम्मुरेमा पनि सुख्खा बन्दरगाह निर्माण भइरहेको बताए । मुस्ताङ र कञ्चनपुरमा पनि बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको उनले बताए ।
हाल विरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रुपमा अगाडी बढाउन काम गरिरहेको उनले बताए ।
प्रतिक्रिया