घिसिङले भने- अब कुनै पनि क्षेत्रमा लोडसेडिङ हुँदैन (भिडियोसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताएका छन् । आज नेपाल विद्युत् प्राधिरकणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबारदेखि विद्युत् कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको बताएका हुन् ।
उनले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्याधिक मात्रामा आकासिएकोले मंगलबारदेखि प्राधिकरणले विद्युत् आयात नगरेकाले उद्योगमा विद्युत् कटौती गर्नु परेको बताए । घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या आएकाले विद्युत् कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको स्पष्ट पारे । उनले प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताए ।
प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाई छ । घिसिङले विश्वभर नै विद्युत् अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताए । भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४०० मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरुमा विद्युत दिने तयारीमा प्राधिकरणले गरेको घिसिङले बताए ।
त्यस्तै, निर्देशक घिसिङले रुस र युक्रेनबीचको तनावको कारण विश्वभर विद्युत् आयातमा समस्या बढ्दै गएको बताएका छन् । उनले नेपालमा ८ महिना विद्युत् आयात गर्नु नपर्ने अवस्था रहेको बताए । तर, ४ देखि ५ महिनाको लागि करिव ४०० मेगावट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको बताए । अहिलेको यो अवधि विद्युत् उत्पादन कम हुने र माग बढ्ने भएकाले पनि विद्युत् व्यवस्थापनमा समस्या देखिएको घिसिङले बताए । भारतमा विद्युत् अभावको समस्याको कारण प्राधिकरणले गरेको सम्झौता अनुसार विद्युत् आयात नसकेकोले समस्या भएको घिसिङले बताए ।
त्यस्तै, घिसिङले प्राधिकरणले नेपालमा खपत हुनेमध्ये ३० प्रतिशत विद्युत् आयात गरिहेको पनि बताए । कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षको माघ महिनासम्म ४ अर्ब रुपैयाँको विद्युत् आयात गरेको बताए । प्राधिकरणले यो वर्ष ८ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गर्ने आँकलन गरे पनि महँगो हुँदै गएकाले करिव १० अर्बको विद्युत् आयात हुने घिसिङले बताए । उनले छोटो समयको लागि भए पनि महँगोमा विद्युत् किनेर उद्योग सञ्चालन गर्ने र लोडसेडिङ हुन नदिने बताए । घिसिङले अहिले केही समस्या आएपनि लोडसेडिङ नहुने भन्दै उद्योगीहरुले ढुक्क भएर विद्युत् खपत गर्न आग्रह गरे ।
कार्यकारी निर्देशक घिसिङले महँगोमा विद्युत् आयात गरे पनि उद्योगहरुलाई विद्युतको मूल्य नबढाउने बताए । उनले विद्युत् प्राधिकरण उद्योगप्रति उत्तरदायी भएर प्राधिकरण घाटामा गएपनि महँगोमा विद्युत् किनेर उद्योलाई दिन लागिएको दाबी गरे । भारतबाट ल्याउने बिजुलीको मूल्य प्रतियुनिट ३८ रुपैयाँ पर्ने भएको छ । पछिल्लो समय प्राधिकरणले औसत ११.३३ पैसा भारु (१८ रुपैयाँ) मा बिजुली किन्दै आएको थियो ।
भोलिपल्टको बिजुली किन्न प्राधिकरणले एक दिनअघि बिड गर्नुपर्छ । बिहीबार बिड गरेको दरमा शुक्रबार मात्र बिजुली पाइन्छ । प्राधिकरणले दैनिक प्रतिस्पर्धामा भारतबाट बिजुली किनिरहेको छ । बिजुली खरिद बिक्रीका लागि भारतको विनिमय बजारमा ९६ वटा ब्लक छन् । विद्युत् प्राधिकरणले ती ब्लकमा बिजुली किन्न प्रतिस्पर्धा गर्नुपर्छ । भारतमा बिजुलीको भाउ न्यूनतम सीमा २० रुपैयाँ भारु तोकिएको छ । नेपालमा साँझको समयमा बिजुलीको माग १६०० मेगावाट पुग्ने गरेको प्राधिकरणले बताएको छ ।
भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्णक्षमतामा चलाउँदै आएको प्राधिकरणले बताएको छ । यी आयोजनाबाट दिउँसो कम बिजली उत्पादन हुने गरेको छ । अहिले प्राधिकरणका आफ्ना आयोजनाबाट ५२२, सहायक कम्पनीका आयोजनाबाट ३११, निजी उत्पादनकबाट ३१० मेगावाट आपूर्ति भइरहेको बताएको छ ।

प्रतिक्रिया