स्थानीय चुनावमा व्यस्त बन्यो निर्वाचन आयोग, गर्दै छ देशैभर अन्तर्क्रिया

काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरुको अन्तर्क्रिया सुरु गरेको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो ।
यो कार्यक्रम देशका विभिन्न १५ स्थानमा केन्द्रमा एक र १४ वटा जिल्लाहरुमा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा कार्यक्रम सञ्चालन गरिने आयोगले बताएको छ । पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरुमध्ये राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दलहरुले आयोगमा पठाएका विवरणहरुको रुजु गर्ने काम गरिरहेको बताए । उनले मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायत सामग्री छपाइका लागि विभिन्न ६ वटा प्याकेजको बेलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको पनि बताए ।
‘निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरुमध्ये राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दलहरुलाई आयोगको मिति २०७८ चैत २ गतेको निर्णयअनुसार आ-आफ्नो जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण आयोग र निर्वाचन कार्यालयमा मिति २०७८ चैत ६ गतेभित्र पेस गर्न निर्देशन दिएबमोजिम दलहरुले आयोग र निर्वाचन कार्यालयमा प्राप्त विवरण रुजु तथा भिरान गर्ने कार्य भइरहेको छ,’ सह-प्रवक्ता अर्यालले भने ।
निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरुको अन्तर्क्रियात्मक कार्यक्रम देशभर विभिन्न स्थानमा हिजो (बुधबार) बाट प्रारम्भ भएको छ । ‘यस कार्यक्रम देशका विभिन्न १५ स्थानमा केन्द्रमा एक र १४ जिल्लामा सञ्चालन गर्नेछौँ । सातै प्रदेशका सदरमुकाममा कार्यक्रम सञ्चालन हुनेछन् । मतदाता नामावली, मतदाता परिचयपत्र,निर्वाचनसँग सम्बन्धित निर्देशिका लगायतका सामग्री छपाइका लागि विभिन्न ६ वटा प्याकेजको बेलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको छ,’ सह-प्रवक्ता अर्यालले भने, ‘निर्वाचन प्रचार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत आवश्यक हुने मतदाता शिक्षा सामग्री तयारीका लागि विभिन्न ४ समूहमा संघ-संस्था सूचीकृतका लागि सूचना गरिएकामा समूह क अडियो तथा भिडियो सामग्री उत्पादनमा ६१ वटा, भिडियो तथा टेलिभिजन प्रशारणमा १५ वटा, सूचना एवं सन्देश प्रकाशनमा १९ वटा, सामाजिक सन्जाल प्रवर्द्धनमा ४५ वटा संघ-संस्थाको आवेदन दर्ता भएको छ । यसरी दर्ता भएका आवेदनहरु अध्ययनको प्रक्रियामा छन् ।’

प्रतिक्रिया