जीवनको चुक्ता पुँजी ५ अर्ब, निर्जीवनको २ अर्ब ५० करोड पुग्यो

काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गरेको छ । संचालक समितिको आज बसेको बैठकले जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याएको हो ।
बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउने उद्देश्यले चुक्ता पुँजी बृद्धि गरिएको समितिले जानकारी दिएको छ । चुक्ता पुँजी बृद्धिसँगै कम्पनीहरुलाई एक अर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन सहयोग पुग्ने समितिको ठहर छ ।
ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।
बिमा कम्पनीहरुले २०७९ साल चैत्र मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गरिसक्नु पर्नेछ । निर्धारित पुँजी तोकिएको अवधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले “बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्नेछ ।
त्यसैगरी, विदेशी बिमकको रुपमा दर्ता भई सञ्चालनमा रहेको बिमकले बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको हो । संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था पनि समितिको बैंठकले गरेको छ ।
साथै कम्पनीहरुले ३० दिनभित्र आफ्नो पुँजी योजनासम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेस गर्नुपर्ने व्यवस्था समेत रहेको छ ।


प्रतिक्रिया