मंगलबार, जेठ ८, २०८१

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा नियमित गरिने

नेपालखोज २०७८ चैत ११ गते ११:४५

काठमाडौं । कर्णालीमा मिर्गाैला प्रत्यारोपण सेवा नियमित गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा . पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा . डम्बर खडकाले हस्ताक्षर गरेका हुन् । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राध्यापक डा. खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने गरी सम्झौता भएको जानकारी दिए । प्रदेश अस्पताल अन्तर्गतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने जस्ता सम्झौता भएको जनाइएको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँ स्थित प्रदेश अस्पताल सुर्खेतले विशेषज्ञ र ठूला खालका सेवा सुरु गर्ने पहल र योजनाले कर्णालीवासीमा खुसी छाएको छ । कर्णाली सरकारको एकमात्र ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेपछि नागरिकले आफ्नो स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुने आशा गरेका छन् ।

पहिलोपटक कर्णाली प्रदेश अस्पताल सुर्खेत बाट जटिल खालको मानव अंग प्रत्यारोपण सेवा सुरु हुने भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुने भएको छ । अब मिर्गौला उपचारको सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यता हट्ने प्रदेश अस्पातालले जनाएको छ ।

प्रतिक्रिया