ठेकेदारका कारण भौतिक पूर्वाधारका काममा ढिलाइ भयो : मन्त्री भुसाल

नेपालखोज २०७८ चैत ११ गते १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधाहरू घरदैलो नजिकै पुर्‍याएको बताएकी छन । ललितपुर महानगरपालिका वडा नं २३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले भनिन् , ‘पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।’

स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिइन् । जनताले घर नजिकैबाट सेवा पाएकोमा खुशी व्यक्त गर्दै मन्त्री भुसालले परिवर्तनको आन्दोलनमा आफूहरूले जीवन खर्चिएको र परिवर्तनका एजेन्डा कार्यान्वयन गर्ने अवसर पाएकाले त्यसलाई स्थानीय जनप्रतिनिधिले भरपुर रूपमा सदुपयोग गर्नुपर्ने बताइन् ।

ललितपुर महानगरपालिका र त्यस अन्तर्गतका वडा मात्र नभइ देशभरका स्थानीय सरकारले जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा उनको जोड रहेको थियो । मन्त्री भुसालले ठेकेदारका कारण कतिपय भौतिक पूर्वाधारका काममा ढिलाइ हुने गरेको उल्लेख गर्दै जनताले आफ्नो अधिकारका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताइन् । कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अपाङमैत्री आधुनिक भवन बने सँगै अबका दिनमा जनताले गुणस्तरीय सेवा पाउनुपर्ने बताए ।

उनले महानगरपालिकाले निरन्तर जनताका कामलाई विशेष प्राथमिकता दिने विश्वास समेत दिलाए । कार्यक्रममा भवन निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष भुयुकाजी महर्जनले वडा कार्यालय भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया