प्रदेश १ को आर्थिक कार्यविधि विधेयक पारित

नेपालखोज २०७८ चैत ११ गते १३:५९

काठमाडाैं । प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेस गरेका थिए । ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो विधेयक सदनमा पेस गरेका थिए । सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले उक्त विधेयकमा तोकिए बमोजिम र स‌घीय कानुन बमोजिम स्पष्टरुपमा उल्लेख भएकाले यो विधेयक किन आवश्यक छ भन्दै विधेयक प्रदेशकै स्वामित्व अभिवृद्धि गर्ने किसिमको हुनुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य मोहनकुमार खड्काले शासन पद्धतिलाई कानुन र विधिबाटै व्यवस्थित बनाइने भएकाले यो विधेयक आमसञ्चारका लागि उपयुक्त भएको चर्चा गरे । उनले आठ परिच्छेद र ४५ दफामा रहेको उक्त विधेयकअनुसार सञ्चार माध्यममा वैदेशिक लगानी गर्न सक्ने प्रावधान गलत छ भन्दै अव्यवस्थित गतिविधिलाई नियन्त्रण गर्न प्रस्तावित विधेयक राम्रो रहेकाे बताए ।

शून्य समयमा बाेल्दै प्रदेशसभा सदस्य राधा थापाले पाँच वर्षकाे अवधिका लागि छानिएका जनप्रतिनिधिको समय अवधि थोरै भएकाले विकासमा तीव्रता दिनुपर्ने बताए । उनले कोरोनाकाल, राजनीतिक अस्थिरता र बाढीजस्ता प्राकृतिक प्रकोपका कारण विकासमा निकै ढिलाइ भएकाले थोरै समयमा अधिकतम लाभ लिनसक्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिए ।

प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवारले मोरङको लेटाङमा कर्तव्य पालनाको क्रममा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महिला हिंसा गर्ने र बलात्कारका दोषिलाई कडा सजायको व्यवस्था हुनुपर्ने माग गरिन्। प्रदेशसभाको अर्को बैठक यही चैत १३ गते दिउँसो १ बजे बस्नेछ । रासस

प्रतिक्रिया