सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब विजयी

नेपालखोज २०७८ चैत ११ गते १४:१४

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगन्ज युनाइटेड क्लबलाई पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगन्ज युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजंग कार्की र ओमप्रकाश रोकाले दुई /दुई गोल गरे ।

कार्कीले खेलको २४औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए । रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता तेब्बर बनाए भने कार्कीले खेलको ९०औँ मिनेटमा गोल गर्दै टुसाललाई ४–० ले जित दिलाए ।

जितसँगै टुसाल युथ आठ खेलमा ११ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ । लिगमा १४ क्लब सहभागी रहेका छन । शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्ने भएका छन् । –रासस

प्रतिक्रिया