आइतबार, पुष ६, २०८२

युनियन लाइफद्वारा जीवन उत्थान बिमा योजना सार्वजनिक

नेपालखोज २०७८ चैत ११ गते १४:२३

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बिमा योजना सार्वजनिक गरेको छ । बिमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बिमा गर्ने व्यक्तिहरूले अधिक लाभ लिन सक्ने देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको जीवन बिमा उत्थान बिमा योजना न्युन आय भएका व्यक्तिहरू देखि अधिक आय भएका व्यक्तिहरूले खरिद गर्न सक्ने देखिएको छ । न्यूनतम ५० हजार रुपैयाँदेखि आय श्रोतको आधारमा चाहे अनुसार बिमांक रकमको बिमा गर्न सक्ने ब्यवस्था रहेकोले उक्त बिमा योजनामा सबैको पहुँच हुने देखिएको छ । साथै न्युनतम ९ वर्ष देखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्ष देखि ५० वर्षका व्यक्तिहरूले बिमा गर्न सक्ने कम्पनीले जनाएको छ ।

बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जीवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बिमांक रकम र बोनस उपलब्ध हुनेछ भने बिमा अवधि भित्र कालगतीले मृत्यु भएमा समेत बिमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ । कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बिमांक बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोड सम्म हुने ब्यवस्था रहेको छ ।

प्रत्येक तिन वर्ष पुरा भएको बिमालेखको बार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बिमा अवधि समाप्तिमा बिमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बिमाङ्क रकम र बोनस समेत प्रदान गरिने ब्यवस्था रहेको छ । यस बिमा योजनामा दुर्घटना मृत्यु लाभ, बिमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरू लिन सक्ने ब्यवस्था रहेको छ । साथै बिमालेख लिएको मितिले तिन वर्ष पुरा भए पश्चात समर्पण मूल्य, चुक्ता मूल्य तथा कर्जा सुविधा प्राप्त गर्ने ब्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तिन वर्ष पछि अग्रिम भुक्तानी हुने र सबै बर्गका मानिसहरूको पहुँचमा पुर्‍याउने उद्देश्यले ल्याइएको बिमा उक्त योजना बिमा गर्नेहरूको हितमा रहेको छ ।

प्रतिक्रिया